Monday, May 21, 2012

बाबुसँगै बालक हिरासत, आमा पनि जेल

जेठ ८- सात वर्षीय किरण थापा चितवनराष्ट्रिय निकुञ्जको मुख्यालाय कसरामा रहेको हिरासतमा छन्। उनका बाबु ४१ वर्षीय सागर थापालाई पनि काठ काटेको आरोपमा निकुञ्जले जेठ१ मा समातेर हिरासतमा राखेको छ। किरणकी आमा ३५ वर्षीया सानुमाया पनि जेलमै छिन्। त्यसैले किरण बाबुसँगै हिरासतमा बस्न बाध्य छन्।
'म खोलाले बगाएर ल्याएको काठ जम्मा गर्दै थिएँ। त्यस दिन छोरो पनि सँगै थियो। निकुञ्जका मान्छेहरू आएर समाए। कहाँ जाने भन्दै रुँदै किरण मसँग आयो,' सागरले भने। यसअघि माघमा सागर र उनकी श्रीमती सानुमाया निकुञ्जभित्र काठ काटेको आरोपमा सँगै पक्राउ परेका थिए।
जनही १० हजार रुपैयाँ धरौटी लिएर दुवैलाई छाड्न निकुञ्जले आदेश दियो। धरौटी बुझाउन नसकेपछि दुवैजना भरतपुर कारागार चलान भए। 'गाउँले र आफन्तले चन्दा उठाएर १० हजार रुपैयाँ जुटाएपछि म छुटेँ, तर, यसकी आमालाई छुटाउन सकिनँ' छोरा किरणतर्फ इंगित गर्दै सागरलेभने।
पदमपुर गाविसका स्थायी बासिन्दा भए पनि सागरको परिवार पूर्वी चितवनको कठार गाविसको सुन्डी भन्ने ठाउँमाडेरा गरी बसेका थिए। सागरका दुई छोरा र दुई छोरी छन्। बाबुआमा पक्राउ परेपछि छोराछोरी मामाघर बस्न थाले। धरौटी राखेर चैत २९ मा सागर भरतपुर कारागारबाट छुटेपछि कान्छा छोरा किरण चाहिँ उनीसँगै बस्न थालेका हुन्।
'अरु केटाकेटी मामाघरमा हजुरबुबा-हजुरआमासँग बसेका छन्। किरणले चाहिँ मलाई पछ्यायो,' सागरले भने। कुनै अपराधको आधारमा किरणलाई हिरासतमा नराखेको चितवन निकुञ्जले जनाएको छ। 'ऊ बाबुसँग छुट्टिनै मान्दैन। घरमा आमा पनि नभएकोले यहीँ बसिरहेको छ,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले भने।
आमालाई हिरासत राख्दा यसअघि पनि आश्रित बालबालिका सँगै हिरासत बस्ने गरेका निकुञ्जको भनाइ छ। ' तर, बाबुसँगै बालक यसरी हिरासतमाबसेको कुरा जानकारीमा छैन,' निकुञ्जका एक कर्मचारीले भने। आमा आएमा आफू घरमै जाने किरण बताउँछन्। १० हजार धरौटी बुझाउन नसक्दा उनकी आमा जेलबाट छुटेकी छैनन्।
फैसलापछि सागर फेरि पनि धरौटीमा छुट्नसक्ने सम्भावना रहेको निकुञ्जका कर्मचारीले बताएका छन्। सागरभन्छन्, 'मसँग धरौटी राख्ने पैसा छैन। पहिले त चन्दा उठाएर साथीहरूले धरौटी तिरिदिएका थिए। अब कसरी रकम तिर्ने होला?'

No comments:

Post a Comment