Saturday, March 17, 2012

लडाकु शिविरमा १८ करोड रुपियाँ ! Nagariknews.com

-एकीकृत माओवादीको 'जनमुक्ति सेना' प्रमुख नन्दकिशोर पुनले लडाकुका विभिन्न शिविरहरुसँग १८ करोड रुपैयाँरहेको जानकारी दिएका छन्। योङ कम्युनिष्ट लिग (वाइसीएल) ले लडाकुहरुको हिसाव किताव खोजी गरेपछि शुक्रबार पार्टीमुख्यालय पेरिसडाँडामा भएको वैठकमा पुनले १८ करोड रहेको बताएका हुन्।
शिविरमा रहेका लडाकुसरह वाइसीएलमा गएका पूर्व लडाकुहरुलाई पनि सुविधा र हैसियत दिने विषयमा भएको छलफलमा पुनले त्यही रकमबाट वाइसीएलको समस्या समाधान गर्ने बताए । तर, वाइसीएल नेताहरुले भने पुनको भनाइप्रति असन्तुष्टि जनाउँदै संगठनकै अपमान गरिएको बताएका छन्।
'हामीले हिसाव किताव पारदर्शी हुनुपर्ने आवाज उठाएका हौं। तर, उनीहरुले पैसा माग्न गएजस्तो ब्यवहार गरे', वाइसीएलको लिम्बुवान राज्यसमितिका सह-संयोजक इन्द्र आङवुहाङले भने, 'यसले हामी सबै वाइसीएलको अपमान भएको महसुस गरेका छौं।'
वाइसीएल नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र लडाकु प्रमुख पुनले वाइसीएलको अपमान गरेको र यसले समस्यालाई जटिल बनाएको बताएका छन्।
शुक्रबारको वैठकमा अध्यक्ष दाहाल 'टाउको दुखेको छ' भन्दै केही क्षणमै बाहिरिएपछि पुनले लडाकु शिविरहरुसँग १८ करोड मात्रै रहेको जानकारी गराएका थिए। 'प्रचण्ड (दाहाल)को निर्देशनअनुसार पासाङ (पुन)ले जे भने/गरे, त्यसले समस्या समाधान गर्न भन्दा पनि वल्झाउने काम गरेको छ', आङवुहाङले भने।
पार्टीका पदाधिकारीसहित जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु, व्रिगेड तथा डिभिजन कमाण्डरहरु र वाइसीएलका नेताहरु उपस्थित वैठकले जनमुक्ति सेना र वाइसीएलको हिसाव किताव सार्वजानिक गर्ने र वाइसीएलका नेता तथा कार्यकर्ताहरुलाई दिने प्याकेज निर्धारण गर्ने बताइएको थियो। तर, पटक-पटक सार्दै शुक्रबार गरिएको वैठकमा पार्टी अध्यक्ष दाहालर पुनको ब्यवहारले वाइसीएलकानेताहरुले अपमानित भएको महसुस गरेका हुन्।
उनीहरुले अहिलेको प्रक्रिया र ब्यवहार 'जनमुक्ति सेना र वाइसीएललाई समान ब्यवहार गरिने' भनी अध्यक्ष दाहालले पार्टीको वालाजु सम्मेलनका वेला गरेको प्रतिवद्धताको विरोधी भएको पनि बताएका छन्।
आफनै कार्यकर्ताहरुको समस्यावारे उदासीन रहेको पार्टी र जनमुक्ति सेनाले सगरमाथा चढन जाने तयारीमा रहेका दाहालपुत्र प्रकाश दाहाललगायतको टोलीलाई रकम दिएकोप्रति पनि वाइसीएलका नेताहरुले आपत्ति जनाए। शुक्रवारको वैठकमा प्रत्येक डिभिजनले २/२ लाखका दरले दाहालपुत्रको टोलीलाई १४ लाखरुपैयाँ दिने घोषणा गरिएको थियो। पार्टीको निर्देशनमा जनमुक्ति सेनाको यो घोषणाले वाइसीएलका नेताहरुलाई थप आक्रोशित बनाएको छ।
'दुई/चार जना सगरमाथा चढेर शान्ति र संविधान आउने भए ६ सय १ जना सभासदलाई सगरमाथा चढाईदिए भइहाल्यो नि', आङवुहाङले भने, 'यस्ता उटपटयाङ गरेर शान्ति र संविधान आउने भए अरु काम किन गर्नपर्‍यो? किन जनयुद्ध गर्न परेको थियो?' जनता खान नपाएर मरिरहेको र कार्यकर्ताको विजोग भएको बताउदै उनले पार्टीको यस्तो कदमले असन्तुष्ट कार्यकर्ताहरुलाई झनै वढी आक्रोशित बनाएको जिकीर गरे।
पुनको आयब्यय विवरण र ब्यवहारप्रति असहमति जनाउदै वाइसीएलले अध्यक्ष दाहाल र महासचिव राम वहादुर थापालगायतका नेताहरुसँग शनिवार छलफल गर्ने तयारी गरेको आङवुहाङले जानकारी दिए। 'छलफल गर्दा के हुन्छ? हेरौ', उनले भने, 'यदि उनीहरुले लिखित प्रतिवद्धता दिएनन् भने देशभरी नै कार्यक्रम लैजान्छौं।' यसअघि वाइसीएललेअध्यक्ष दाहाल निवासमा अनिश्चितकालिन घेराउलगायतका कार्यक्रम सार्वजानिक गरेपछि पार्टीले वाइसीएलसँग वार्ता सुरु गरेको हो।
शुक्रवारको वैठकले वाइसीएलको समस्या समाधान गर्न जनमुक्ति सेनाका डेपुटीकमाण्डर चन्द्रप्रकाश खनाल, वाइसीएलका संयोजक गणेशमान पुन र वाइसीएल सह-संयोजक उमा भुजेल रहेको कार्यदल पनि गठन गरेको छ। कार्यदललाई वाइसीएलको तथ्याङसहित एक साताभित्रै समस्याको समाधान गर्ने जिम्मा दिइएको कार्यदलका सदस्य तथा वाइसीएलसंयोजक गणेशमान पुनले बताए।
वाइसीएलका मगरात राज्य समितिका सह-संयोजक असल खड्काले 'कार्यदल बनाएर अल्मल्याउन खोजेको' बताए। 'साथीहरुको आक्रोश मत्थर गर्ने काम गरिएको हो', खड्काले भने, 'तर, यसले समस्यालाई झनै जटिल बनाएको छ।'
यसअघि वाइसीएलमा गएका पुर्व लडाकुहरुलाई दिइने सेवा र हैसियत टुंगो लगाउन स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द र पोलिटब्युरो सदस्य जनार्दन शर्मा रहेको कार्यदलगठन गरिएको थियो। कार्यदलले लडाकु र वाइसीएलका कार्यकर्तालाई समान प्याकेज र पार्टीमा पनि समान हैसियत दिनुपर्ने प्रस्ताव तयार पारेको थियो। त्यही वैठकले समाधानको उपाय निकाल्न चन्द र शर्मा रहेको कार्यदल गठन गरेको थियो। चन्द पार्टीमा उपाध्यक्ष मोहन वैद्य पक्षधरमानिन्छन् भने शर्मा अध्यक्षदाहाल निकटका नेता हुन्।
वैठकले शिविरभित्र रहेका लडाकुहरुसँगै वाइसीएलमा रहेका लडाकुहरुको पनि दर्जा मिलान गर्ने निर्णय लिएको थियो। उनीहरुलाई पनि शिविरमारहेका लडाकुहरुलाई झैं नै पार्टी कमिटीमा वढुवा गर्ने पदाधिकारी वैठकको निर्णय थियो। यसअघि माओवादीले शिविरमा रहेका लडाकुहरुको वढुवा गरेको थियो। त्यसो त फागुन १४ गतेको माओवादी पदाधिकारी वैठकले वाइसीएलमा रहेका लडाकुहरुको मागलाई सम्बोधन गर्ने निष्कर्ष निकाल्दै 'सुविधा र हैसियत दिने' निर्णय गरेको थियो ।

1 comment:

  1. 'दुई/चार जना सगरमाथा चढेर शान्ति र संविधान आउने भए ६ सय १ जना सभासदलाई सगरमाथा चढाईदिए भइहाल्यो नि', आङवुहाङले भने, 'यस्ता उटपटयाङ गरेर शान्ति र संविधान आउने भए अरु काम किन गर्नपर्‍यो? किन जनयुद्ध गर्न परेको थियो?' जनता खान नपाएर मरिरहेको र कार्यकर्ताको विजोग भएको

    ReplyDelete