Saturday, March 17, 2012

वैद्यपक्षद्वारा सरकार ढाल्ने घोषणा | मुख्य समाचार | ekantipur.com

काठमाडौ, चैत्र ४ - माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षले शनिबार पार्टी नेतृत्व तथा सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । दुई महिना यता मत्थर जस्तो देखिएको माओवादी भित्रको विवाद फेरि चर्किएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन नगरेको भन्दै वैद्यपक्षले संघर्षको कार्यक्रम ल्याएको जनाएको छ । बाबुराम भट्टराई नेतृत्वमा सरकार बनेदेखि नै भट्टराईको राजीनामा माग गर्दै आएको वैद्यपक्षले राजीनामाको विषय थप चर्काउने घोषणागरेको छ ।
शनिबार होटल र्‍याडिसनमा पत्रकार सम्मेलन मार्फत वैद्यपक्षीय नेता तथा पार्टी सचिव सीपी गजुरेलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । उनले सडक,सदन र पार्टी तीन वटै मोर्चाबाट सरकारलाई फिर्ता बोलाउन दवाब दिइने बताए । गजुरेलले वर्तमान सरकार राष्ट्र र जनविरोधी भएकोले सरकार ढाल्नुपर्ने नीति लिइएको जनाए ।
'एक साता भित्र राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा गराउने अध्यक्ष दाहालले भन्नु भएको थियो,' गजुरेलले भने-'तर चार साता बित्दा समेत राजीनामा आएन । सरकारबाट फिर्ता हुने निर्णय कार्यान्वयन नभएकोले संघर्षरोजिएको हो ।'
सरकार,संविधान निर्माण र जनजीविकाको विषयमा सडक संघर्ष गरिने गजुरेलले बताए । सडक आन्दोलनमा आकासिएको मूल्यवृद्धिको पनि बिरोध गरिने छ ।
शान्ति प्रक्रिया टुंगिने लागेको बेला र संविधानसभाको म्याद छोटिन लागेको बेला वैद्यपक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री भट्टराईको राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउने सम्मको तयारी गरिने गजुरलेलले बताए । 'सरकार ढाल्ने विषयमा अन्य दलहरुसंग छलफल भइरहेको छ',गजुरलेलले भने ।
भारतसंग वर्तमान सरकारले गरेको कतिपय राष्ट्रघाती सम्झौताहरु खारेज गरिनुपर्ने वैद्यपक्षको माग छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्य तथा महासचिव रामबहादुर थापा अनुपस्थित थिए । दुई नेताको अनुपस्थितिबारे सोधिएको प्रश्नमा गजुरेलले भन-'राष्ट्रिय जनपरिषद् को कार्यक्रम भएकोले उहाँहरुको अनिवार्य उपस्थिति नगराइएको हो ।' वैद्यपक्षबाट बनाइएको परिषद्का संयोजक गजुरेल हुन् ।
पार्टी फुटको निम्ती तयारी नगरिएको दावी गर्दै पत्रकार सम्मेलनमा गजुरेलले भने-'हामी पार्टी फुटाउन चाहदैँनौ । क्रान्तिकारी पार्टी फुटाएर नेपालमा क्रान्ति सम्भव हुँदैन हामीलाई थाह छ । '
संघर्ष घोषणा गरिएपनि संघर्षको कस्तो रुप हुने र कहिलेबाट सुरु हुने बारे प्रष्टायाइएको छैन । गजुरेलले विचार मिल्ने अन्य दलहरुसंग पनि छलफल भइरहेको र ती दलहरुसंगको सहकार्यमा आन्दोलनको कार्यक्रम अघि बढाइने बताए ।
माघ पहिलो साता भएको केन्द्रीय समितिको बैठकले पार्टी भित्र चर्किको विवादको अस्थायी समाधान निकाल्न फरक विचारलाई छलफलमा लैजाने निर्णय गरेपनि त्यो प्रभावकारी हुन सकेन ।
पत्रकार सम्मेलनमा गजुरेलसंगै पम्पा भुसाल,देव गुरुङ, नेत्रविक्रम चन्द, हितमान शाक्य लगायतका वैद्य पक्षीय नेता तथा सभासद्हरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०६८ चैत्र ४ १२:१९

No comments:

Post a Comment