Monday, July 22, 2013

पहिरोले पुरिएर चारको मृत्यु

पाल्पा - अविरल वर्षा पछि आएको पहिरोले घर पुरिएर पाल्पामा तीन र
स्याङ्जामा एकजनाको मृत्यु भएको छ। पाल्पा खानीछाप गाविस–७ आमडाँडाका
तिलबिर दर्लामीको घर भत्किएर दुई नाबालक छोराछोरीको मृत्यु भएको प्रहरीले
जनाएको छ।
छिमेकी घर भएका काका भीमबहादुरको घरमा टिभी हेर्न गएका तिलबीरका छोरी १२
वर्षीया प्रेमकुमारी र छोरा ८ वर्षीय बिष्णुको घरले पुरिएर मृत्यु भएको
पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए। पुरिएर केहि घाइते
समेत भएका छन्।
पाल्पाकै पिपलडाँडा–७ का ५६ वर्षीय दुर्गाबहादुर सुनारीको आइतबार राति
मृत्यु भएको छ। पहिरोले घर बगाएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनका १२ वर्षीय छोरा छविलाल सख्त घाइते छन्।
यस्तै स्याङ्जा कुवाकोट गाविस–५ की २५ वर्षीया रिता भट्टराईको पानी लिन
जाँदा माथिबाट खसेको पहिरोले बगाएर मृत्यु भएको छ। उनीसँगै गएकी अर्की
युवती भने सकुशल रहेकी चापाकोट प्रहरी चौकीले जनाएको छ। प्रहरी र
स्थानीयले वेपत्ता युवतीको खोजी गरिरहेका छन्।
अविरल वर्षाका कारण पहिरो खसेर ठाउँठाउँमा सिद्धार्थ राजमार्ग अवरुद्ध
भएको । पाल्पा–बुटवल सडक खण्ड हिजो रातिदेखि अवरुद्ध छ। यसैगरी
पाल्पा–गुल्मी सडक खण्डको जोर्तेमा पहिरो खसेर यातायात ठप्प छ। उता
पाल्पा–स्याङ्जा सडक खण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको प्रहरी कार्यालय
पाल्पाले जानकारी दिएको छ। उक्त सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेको
बताइएको छ।
आइतबार बेलुकीदेखि परेको अविरल पानीले पाल्पाको माडीफाँट र प्रभास
क्षेत्र जलमग्न भएको छ। हिजो बेलुकादेखि नै विद्युत सेवा समेत अवरुद्ध
बनेको छ।

No comments:

Post a Comment