Wednesday, January 23, 2013

माओवादीद्वारा दैलेखको पत्रिका र जिल्ला प्रशासन कार्यालयमा आक्रमण, २४ घाइते

माओवादी कार्यकर्ताले दैलेखको 'हाम्रो तेस्रो आँखा' दैनिक र जिल्ला
प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी
कार्यकर्ताले गरेको आक्रमणबाट दुई कर्मचारी सहित २४ जना घाइते भएका छन्।
कार्यालयभित्रै पसेर उनीहरुले लठ्ठी र ढुंगाले आक्रमण गरेको दैलेखस्थित
नागरिकन्युजकर्मी गोविन्द केसी ले जनाएका छन्।
सरदमुकामस्थित एमाओवादी कार्यालय नजिकका घर-घरमा छिरेर प्रहरीले निर्दोष
सर्वसाधारणलाई कुटपिट गरेको छ। डिएसपीको कमाण्डमा खटिएको प्रहरीले
अन्धाधुन्ध लाठीचार्ज गर्दा १२-१३ जना घाइते भएका छन्। घरै बसिरहेका
वृद्ध वृद्धा समेत घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
एनेकपा माओवादीका उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले
आमसभालाई सम्बोधन गरिरहेको बेला विपक्षी दलका विद्यार्थी संगठनहरुले कालो
झण्डा देखाएका छन्।
कालो झण्डा देखाउनेहरुलाई माओवादी कार्यकर्ताले आक्रमणमा उत्रँदा
आमसभास्थलमा झडप भइरहेको छ। यसैअघि प्रधानमन्त्री बाबुराम भट्टराईसहित
एमाओवादीका शीर्ष नेता चढेको हेलिकोप्टर दैलेखमा ल्याण्ड गरेका थिए।
माओवादीले आमसभा गर्न लागेको ठाउँसम्म जाने बाटोमा पत्रकारहरुले सुतेर
अवरोध गर्न खोजे पनि प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाएका
छन्।माओवादी कार्यकर्तालाई झडपमा सहभागी हुन प्रहरीले छुट दिए पनि
विपक्षी दलका कार्यकर्ताहरुलाई भने रोकेको छ। प्रहरीर विपक्षी दलका
कार्यकर्ताहरुबीच गणेश चोकमाझडप भइरहेको छ। अर्को काँडा चौर माओवादीको
सभा स्थल विपक्षी दल र माओवादीका कार्यकर्ताबीच झडप भएको छ। यसको नेतृत्व
कांग्रेसका पूर्व स्थानिय विकास राज्यमन्त्री गणेशबहादुर खड्का र एमाले
अध्यक्ष अमर थापा, राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष जनक रेग्मीले
गरेका छन।नेताहरुलाई बचाउने क्रममा विपक्षी दलका कार्यकर्ताहरु घाइते
भएका हुन्।झडपले दैलेख सदरमुकाम तनावग्रस्त बनेको छ।
'१० पत्रकारलाई डेकेन्द्रको हालतमा पुर्‍याउने चेतावनी'
आज बिहान सदरमुकाममा उतारिएका २२ ट्रक वाइसिएल कार्यकर्ताहरुले सडकमा
नाराबाजी गर्दै १० जना पत्रकारलाई डेकेन्द्रकै हालतमापुर्‍याउने धम्की
दिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। वाइसिएल कार्यकर्ताहरुले खुकुरी र
पेस्तोल देखाउँदै हिँडेको उनीहरुले बताएका छन्।
पत्रिका कार्यालयमा आक्रमण
माओवादीले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा आक्रमण गरी कम्प्युटर
टेबल, कुर्सी र शिशाहरु तोडफोड गरेका छन्। आगजनी गर्न खोजे पनि विपक्षी
दलका कार्यकर्ताहरुलेप्रतिकार गरेपछि रोकिएको थियो। प्रतिकारमा
आक्रमणकारीमध्ये ६ जना घाइते भएका छन्।
माओवादी र विपक्षीबीच दुई पटक भएको झडपमा माउन्टेन टिभीका सञ्चारकर्मी
कमल शर्मासहित केही घाइते भएका छन्।
आज प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादीअध्यक्ष पुष्पकमल दाहाल,
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख आउने
कार्यक्रम छ। त्यसको विरोधमा आज दैलेख बन्द आह्वान गरिएको छ।
'सत्ताको आडमा माओवादी उदण्डता'
यसैगरी आज दैलेखमा सञ्चारमाञ्यम तथा सञ्चारकर्मीमाथि गरिएको ज्यादतीको
प्रेस चौतारीले भत्सर्ना गरेको छ। 'राज्यसत्ताको आडमा माओवादीका
कार्यकर्ताबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भएका यस्ता उद्दण्ड,
अराजक, प्रेस स्वतन्त्रताविरोधी र कानुनविपरीतका क्रियाकलापको हाम्रो
संगठन घोर विरोध गर्दछ', महासचिव विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा
भनिएको छ- 'सरकारी साधन–स्रोतका चरम दुरुपयोग गरी पार्टीको कार्यक्रममा
भाग लिन गएका प्रधानमन्त्रीकै उपस्थितिमा यस्तो हर्कत हुनुले हामीलाई थप
गम्भीर बनाएको छ।' चौतारीले घटनामा संलग्न माओवादी कार्यकर्तालाई
नियन्त्रणमा लिन, उनीहरुमाथि आवश्यक कानुनी कारवाही गर्न र उनीहरुले
पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। साथै चौतारीले
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई कानुनी
दायरामा ल्याउने अभियानमा सक्रिय दैलेखका पत्रकारहरुलाई कत्ति पनि विचलित
नभई आफ्नो अभियानमा अझ सक्रियतापूर्वक लाग्न पनि अपिल गरेको छ।

No comments:

Post a Comment