Monday, January 21, 2013

'शवको दाहसंस्कार नगरेसम्म रामपुरमा कर्फ्यू जारी रहने'

टेकनारायण भट्टराई, पाल्पा,माघ ८- पाल्पाको रामपुरमा २७ वर्षीया सोनु
श्रेष्ठको हत्याको विषयमा भइरहेको प्रदर्शन रोक्न जिल्ला प्रशासन
कार्यालयले सर्वपक्षीय वार्ता थालेको छ। साहायक जिल्ला प्रमुख नवराज
बरालको नेतृत्वमा भएको वार्तामा छ बुँदे सहमतिसमेत भएको छ। बरालका अनुसार
पहिलो बुँदामै पीडित परिवारले शव बुझेर दाहसंस्कार गर्नुपर्ने सहमति भएको
छ।
उनका अनुसार पीडित पक्षले शव बुझेर दाहसंस्का नगरुन्जेल रामपुरमा कर्फ्यू
जारी नै रहनेछ। दोस्रो बुँदामा क्षेत्रीय कार्यालय पोखराका एसपी मनोज
न्यौपानेको नेतृत्‍वमा हत्याप्रकरण र प्रहरी कार्यालय तोडफोडबारे छानबिन
समिति गठन गरिएको छ। तेस्रो बुँदामा आइतबार भएको प्रदर्शनमा घाइते
भएकाहरुलाई जिल्ला सुरक्षा समितिले उपचारका लागि सिफारिस गर्नुपर्ने
सहमति भएको छ। घटनाबारे जानकारी गराउनेलगायत अन्य बुँदामासमेत सहमति भएको
छ।
रामपुरका स्थानीयले भने प्रदर्शनलाई जारी नै राखेका छन्। प्रदर्शनलाई
साम्य पार्न वार्तारत पक्षले दराईठाँटीमा कोणसभा आयोजना गर्दैछ। जिल्ला
प्रशासन कार्यालय, राजनीतिक दल, विभिन्न संघसंस्था र स्थानीयबासिन्दाको
पहलमा कोण सभा आयोजना गरी प्रदर्शनलाई स्थगन गर्न पहल गर्दैछन्।
हत्यारालाई कारबाही माग गर्दै रामपुरमा सयौँ महिलाको प्रदर्शन 2013-01-21 13:17:15
टेकनारायण भट्टराई, पाल्पा,माघ ८ - पाल्पाको रामपुरमा २७ वर्षीया सोनु
श्रेष्ठको हत्याको विषयमा तनाव भएर हिजो अपराह्नदेखि लगाइएको कर्फ्यु
जारी छ। कर्फ्यु क्षेत्र नजिकैको किसनबारी बजारमा सयौँको संख्यामा
विशेषगरी महिलाहरुले प्रदर्शन गरिरहेका छन्। उनीहरु कर्फ्यु उल्लङ्घन
गर्ने भन्दै अगाडि बढिरहेका छन्।
घटनास्थल सदरमुकाम तानसेनबाट ६० किलोमिटर टाढा स्याङ्जा र तनहुँको सीमा
क्षेत्रमा पर्छ। छिमेकी गाविसबाट पनि प्रदर्शनमा सहभागी हुन महिला
आइरहेका छन्।
हत्या गरिएका श्रेष्ठको शव हिजो राति पोस्टमार्टम गरिए पनि हत्यारालाई
कारबाही हुने विश्वस्त आधार नभएको भन्दै प्रदर्शन भइरहेको हो।
डेढ महिनाअघि बेपत्ता महिला सोनुको हत्यामा उनकै श्रीमान ओमबहादुर
श्रेष्ठ संलग्न रहेको शंका प्रदर्शनकारीहरुले गरेका छन्। आइतबार
बिहानैदेखि स्थानीय र प्रहरीबीच भएको तनावमा १८ जना प्रहरी र तीनजना
प्रदर्शनकारी घाइते भएका थिए।
आक्रोशित स्थानीयले हिजो प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय
परिसरमा रहेको प्रतिक्षालयमा आगजनी गरेका थिए। हजारौंको भीडलाइ
नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाइ फायर र अश्रुग्याँस समेत प्रहार
गरेको थियो।

No comments:

Post a Comment