Wednesday, December 26, 2012

नेपाली चेलीको बिक्रि: मुम्बईमा घट्यो, खाडीमा बढ्यो

११ पुस, काठमाण्डौं । मुम्बई कुनै बेला नेपालीचेलीहरु सबैभन्दा बढी
बेचिने सहरका रुपमा चिनिन्थ्यो । तर, यतिबेला मुम्बईमा बेचिने नेपाली
चेलीको संख्या घट्न थालेको छ ।
झन्डै दुई दशकदेखि चेलीबेटी बेचबिखन रोकथाम, कोठीहरुबाट चेलीहरुको उद्धार
तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको रेस्क्यु फाउन्डेसन मुम्बईकी
अध्यक्ष त्रिवेणी अचार्यका अनुसार बढ्दो जनचेतना, अधिकारवादी संघसंगठन र
सुरक्षा निकायको सक्रियताका कारण नेपालबाट मुम्बईमा नेपाली चेली बेच्न
लैजाने क्रम घटेको राजधानी दैनिकमा खबर छ । अशिक्षा, गरिबी, अभाव,
अज्ञानताका कारण नेपाली चेलीहरु मुम्बईमा बेचिने क्रम नरोकिएपनि बेचिने
नेपाली चेलीहरुको संख्या भने ह्वात्तै घटेको आचार्यले बताईन् ।
उनले भनिन् 'केही समयअघि मुम्बईमा बेचिने ९९ प्रतिशत नेपाली चेली
हुन्थ्ये । अहिले यो संख्या घटेर ५ प्रतिशतमा पुगेको छ ।'
चेलीबेटीबेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र
प्रचारप्रसारका कारण यो क्रम घटेको उनले बताइन् ।
नेपाली चेलीहरु अहिले भने खाडी मुलुकमा बेचिने गरेको आचार्यले बताईन् ।
मुम्बई लैजान असफल भएपछि अहिले नेपाली चेलीहरुलाई दलालहरुले खाडी
मुलुकहरुमा पुर्‍याउन थालेका छन् । वैदेशिक रोजगारको बाहना बनाएर खाडी
मुलुक लगिएका चेलीहरु नै यौन शोषणमा पर्ने गरेको रेस्क्यु फाउन्डेसनकी
अध्यक्ष आचार्यले भनिन् ।

No comments:

Post a Comment