Saturday, December 15, 2012

एक प्रहरीका चार श्रीमती !

३० मंसिर, रुकुम । रक्षक नै भक्षक भएपछि कसको के लाग्नु र ? स्थानैपिच्छे
श्रीमती फेर्दै हिँड्ने एक प्रहरीमाथि यहाँका महिलाले अविलम्ब कारबाही
गर्न माग गरेका छन् ।
बर्दिया स्थायी घर भई हाल इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा कार्यरत
प्रहरी जवान सचेतन लामिछानेलाई अन्तरपार्टी महिला सञ्जाल रुकुमले
कारबाहीको माग गरेको हो । रुकुम बस्दा रुकुमकोटकी सुनिता सुनारसँग बिहे
गरी अलपत्र पारेको आरोप सञ्जालले लगाएको छ । दुई वर्षअघि सुनितासँग बिहे
गरेका लामिछानेले छोरी जन्मेसँगै सुनितालाई बेवास्ता गर्दै आएका छन् ।
मेरो सम्पत्ति देखेर पछि लागेकी चरित्रहीन आइमाई भन्दै लामिछानेले
सुनितालाई धम्क्याउने गरेको सञ्जालकी सल्लाहकार तथा नेपाल महिला सङ्घ
रुकुमकी सचिव मनिषा भण्डारीले बताउनुभयो ।
सञ्जालका अनुसार प्रहरी लामिछानेले सुनितासँगै अन्य चार महिलासँग पनि
बिहे गरेका छन् । रुकुमकै कोल गाविसकी एक किशोरीबाट छोरी जन्माएका उनले
सुरुमा रुकुम सरुवा भएर आउँदा अर्की श्रीमती ल्याएका थिए भने हाल दाङ
भैसी नाकाकी एक महिलासँग बिहे गरेका छन् ।
उनीबाट पनि एक छोरी रहेको पाइएको छ । एक/एक छोरीसहितकी यसअघिकी दुईवटी
श्रीमती हाल कहाँछन् भन्ने पनि केही नखुलेको सञ्जालले बताएको छ । न्याय र
उचित क्षतिपूर्तिको निम्ति सुनिताले सञ्जाललाई गुहारेपछि उनलाई न्याय
दिलाउन सञ्जाल लागि परेको हो । क्षतिपूर्ति दिनुपर्ने, बिहे दर्ता र
छोरीको जन्मदर्ता गराउनुपर्ने माग राखेर सञ्जालसहित जिल्लास्थित अन्य
सरोकारवाला निकाय अहिले आन्दोलनमा छन् । पीडित सुनितालाई न्याय दिलाउन
उनीहरु दिनहुँ जिल्ला प्रशासन र जिल्ला प्रहरीमा धाइरहेका छन् ।
आरोपित लामिछानेलाई रुकुम झिकाएर दुवैपक्षबीच सल्यानमा गएर बिहे दर्ता र
छोरीको जन्मदर्ता गराउने समझदारी भएको भएपनिसमझदारी नमानेर ऊ भागेर गएपछि
समस्या जटिल बनेको सञ्जालकी सल्लाहकार भण्डारीले बताउनुभयो । "ऊ कार्यरत
जिल्ला सल्यान गएर व्यक्तिगत घटना दर्ता ऐनअनुसार जिल्ला प्रशासन
कार्यालयमा बिहे र छोरीको जन्मदर्तागर्ने समझदारी भएको थियो", भण्डारीले
भन्नुभयो -"तर ऊ सुनितालाई नलिएरै यहाँबाट भागेछ ।"
अर्की श्रीमतीका साथ रुकुम आएका लामिछाने यहाँबाट भागेपछि महिलाले पुनः
जिल्ला प्रहरीकार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद
भट्टसँग छलफल गरेका छन् । आफूहरुसँगको छलफलका क्रममा डिएसपी भट्टले
जिम्मेवार मान्छेसँग सुनितालाई सल्यान पठाई त्यतैको प्रहरीको सहयोगमा
पीडितलाई न्याय दिलाउन प्रयास गर्ने बताएको अन्तर पार्टी सञ्जालकी सदस्य
निर्मला गिरीले बताउनुभयो ।
यदि त्यसो गर्दा पनि सुनिताले न्याय नपाए प्रहरी जवान लामिछानेलाई पुनः
जिल्लामा झिकाउने समझदारी रुकुम प्रहरी र महिला सञ्जालबीच भएको बताइएको छ
। रासस

No comments:

Post a Comment