Friday, November 9, 2012

चुनावको प्रतिस्पर्धामा आउन माओवादीलाई कोइरालाको चुनौति

नेपाली कङ्ग्रेसले आज काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै नेपाली
कङ्ग्रेसका सभापति सुशील कोइरालाले माओवादीलाई चुनावको प्रतिस्पर्धामा
आउन चुनौति दिएका छन्। 'अब अर्को बाटो छैन, अर्को बाटो सोच्नु पतनको बाटो
हो' कोइरालाले भने, 'हाम्रो लक्ष्य चुनाव हो। चुनावको प्रतिस्पर्धामा
आउनुस्, म यहीँबाट तपाईँहरुलाई चुनौति दिन चाहन्छु।'
कि आत्मसमर्पण गर्नुपर्‍यो कि आन्दोलन : देउवा
आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले
आन्दोलनबाहेक अरु विकल्प अहिले नभएको बताएका छन्। 'अहिले हामीसित दुई वटा
बाटो छ - कि सरेन्डर गर कि आन्दोलन गर', देउवाले भने, ' हामी कहिले पनि
सरेन्डर गर्ने पार्टी हैन।'
अहिले आन्दोलन गर्ने हो कि हैन भन्ने नै शंका व्याप्त भएको उल्लेख गर्दै
उनले कार्यकर्ताहरुलाई भने, 'आन्दोलनको घोषणा मुखले मात्रै भनेर हुने
हैन, कामले गरेर देखाउनु पर्छ।'
इतिहासमा कहिले नभएको लुट अहिले भइरहेको आरोप लगाउँदै देउवाले माओवादी
अहिले हरकिसिमका हत्कन्डा अपनाएर एकदलीय सर्वसत्तावाद लागू गर्ने
प्रयासमा रहेकोतर्फ सचेतगराए।
संविधान सभा पुनर्स्थापनाको पक्षमा रहेका नेता देउवाले आमसभामा पनि आफू
पुनर्स्थापनाको पक्षमा रहेको बताए। 'हामीले चार वर्षमा पनि संविधान बनाउन
सकेनौँ र फेरि त्यही संविधान बनाउन चुनाव गर्न खोजिरहेका छौँ', उनले भने,
'मैले पुनर्स्थापना गरौँ भन्दा कसैले मानेन। मैले मनाउन पनि सकिनँ। फेरि
भत्ता खान पुनर्स्थापना गर्न खोज्दैछ भनेर प्रचार गरियो। तर पुनर्स्थापना
गरेर संविधान बनाउनु र त्यही संविधान बनाउन चुनावमा जानु केही फरक छैन।
माओवादीलाई सडकबाटै अपदस्थ गर्ने पौडलको उद्‍घोष
आमसभालाई सम्बोधन गर्दै उपसभापति रामचन्द्र पौडेलले कङ्ग्रेसले माओवादीको
नियतलाई उदाङ्गो पार्दै सडकबाटै अपदस्थगर्ने उद्‍घोष गरेका छन्। 'यसका
लागि कङ्ग्रेस फेरि एक पटक देशभरबाट इन्कलाब गर्दै जाग्दैछ,' पौडेलले
भने।
उनले संविधान सभामा लोकतन्त्रका विरोधी, बहुलवाद नचाहने, जालप्रपञ्च रचेर
जालझेल गरेर अधिनायकवाद लागू गर्न चाहनेको बहुमत भएको कारणले संविधान
बन्न नसकेको आरोप लगाए।
'आज राजा ज्ञानेन्द्रले माइक समातेर भाषण गर्न थालेका छन्।
प्रतिगमनकारीहरुले मुन्टो उठाउन थाल्नुको कारण माओवादी र मधेसवादी हो',
उनले भने। नयाँ जनादेशमा जान पनि माओवादी र मधेसवादीको अपवित्र गठबन्धनले
सबैभन्दा बाधा गरिरहेको उनले बताए।
गणेशमान सिंहको ९७ औँ जन्मदिनको अवसर पारेर कङ्ग्रेसले आज राजधानीमा
शक्तिप्रदर्शनसहित केन्द्रीय स्तरका नेताहरुसहित आमसभा आयोजना गरेको हो।

No comments:

Post a Comment