Wednesday, November 21, 2012

विवाहमा समेत ‘विधान’ उल्लंघन

६ मंसिर, काठमाडौं । मंसिरको यो बेला विवाहको तयारीमालाग्नुभएको छ भने
पण्डित, पुरोहितबाट चनाखो हुनुहोला । तपाईंको दबाबमा उनीहरुले जथाभावी
विवाह गराइदिए भने तपाईंको दाम्पत्य जीवनमा ठूलो असर पर्न सक्छ ।
मंसिरमा १४, १५, २०, २२ र २३ गते मात्र विवाहको लगन छ । १४ गते दिउँसो र
राति, १५ गते दिउँसो, १० गते राति, २२ गते दिउँसो र राति तथा २३ गते
दिउँसोको लागि मात्र विवाहको उपयुक्त समय छ । शास्त्रले तोकेको विधान र
नियम मान्ने हो यी दिन र त्यो दिनमा पनि निश्चित समय बाहेक अरु बेला
विवाह गर्न हुँदैन । तर हिजोआज हाम्रापण्डित, पुरोहितहरुले जुनसुकै दिन र
समयमा पनि विवाहको लगन निकाल्न थालेका छन् ।
गाउँठाउँका पण्डित, पुरोहितहरुले जथाभावी विवाह गरेर भद्रगोल अवस्था
उत्पन्न गराएको भन्दै धर्म गुरुहरु हैरान भएका छन् । जथाभावी विवाह
गराउने त्यस्ता पण्डित, पुरोहितहरुलाई सपार्न धर्म गुरुहरुले बृहत
सम्मेलन गर्ने सोचाई समेत बनाएका छन् ।
के गरे पण्डितहरुले ?
धर्मशास्त्रका विद्वानहरुका अनुसार गाउँठाउँमा न्यायाधीशको रुपमा काम
गर्ने पण्डित, पुरोहितहरुले विवाहको लगन र समयलाई लत्याउन थालेका छन् ।
'हामीले ग्रह, नक्षत्र र शास्त्रका धेरै कुराहरुको हिसाब गरेर विवाहको
लगन निकालेका हुन्छौं' नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य सचिव
सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-'तर कसैको आग्रहमा
पुरोहितहरुले मनलाग्दी रुपमा जथाभावी लगन निकालेर विवाह गर्ने प्रवृत्ति
बढेको छ ।' उहाँका अनुसार यस्ता पुरोहित, पण्डितहरुले धर्मशास्त्र र
विधान विपरीत काम गरेका छन् । 'शास्त्र र विधानले हुँदैन भनेको कुरालाई त
मान्नुपर्यो नि' ढुंगेलले भन्नुभयो-'पण्डितहरुकै कारण विवाहको संस्कार,
परम्परा र मान्यता खलबलिन पुगेको छ ।'
हतारमा विवाह गर्नुपर्यो पुरोहितसँग सल्लाह गरेर लगन नभएको बेलामा पनि
साइत जुराउने चलन हिजोआज हृवात्तै बढेको छ । विवाहको लागि निशेध गरिएको
कात्तिक र चैतमा समेत हिजोआज विवाह हुन्छ । मायाप्रेम, विदेश जाने हतारो
या अरु कुनै कारणले केटाकेटी तथा अभिभावकले गाउँठाउँका पण्डितसँग विवाहको
बारेमा सल्लाह गर्छन् । लौ लगन भन्दा पहिल्यै या त्यो भन्दा पछि
गर्नुपर्यो भनेर दबाब दिन्छन् । पुरोहितहरुले पनि यसो पात्रो पल्टाएजसो
गर्छन् । लौ न त यो दिन मिल्ने रहेछ भनेर तर्क गर्छन् ।अनि लगन नभएको दिन
पनि विवाह हुन्छ । यो परिपाटी विस्तारै बढ्दै जाँदा हिजोआज विवाहको लागि
लगन पर्खनेहरुको संख्या घट्दै गएको छ ।
यसरी निकालिन्छ लगन
धर्म गुरुहरुका अनुसार मंसिर, माघ, फागुन, बैशाख, जेठ रअसार मात्र
विवाहको लागि उचित महिना हो । यी महिनामा पनि सबै दिन विवाह गर्न सकिन्न
। ग्रह, नक्षत्र र धर्मशास्त्रका अरु धेरै हिसाब गर्नुपर्छ । '२७ वटा
नक्षत्र मध्ये ११ वटामा मात्र विवाह गर्न हुन्छ' ढुंगेलले
भन्नुभयो-'यस्ता धेरै हिसाब गरेर लगन निकाल्न हामीहरुलाई झण्डै १५ दिन
मेहनत गर्नुपर्छ ।'
उहाँका अनुसार पात्रो निकाल्ने बेला नेपाल पञ्चांग निणर्ायक समितिका
सदस्य र पात्रो तयार पार्ने अरु पण्डितहरुले छुट्टाछुट्टै बसेर आआफ्नो
ढंगले लगन हिसाब गर्छन् । यसरी हिसाब गरेर लगन निकाल्न एकजनालाई झण्डै
दुई दिन लाग्छ । १० जनाले छुट्टाछुट्टै बसेर तयार पारेको लगनलाई एक
ठाउँमा राखेर हेरिन्छ । सबैकोमा सबै लगन मिलेको छ भने उतिखेरै पारित
हुन्छ । तर छुट्टाछुट्टै भयो भने फेरि सामुहिक बसेर साझा दिनको टुंगो
लगाइन्छ । यसरी छुट्टाछुट्टै र सामुहिक रुपमा बसेर तयार भएको लगन पारित
गरेर पात्रोमा लेख्ने काम हुन्छ ।
'यसरी हामीले धेरै मेहनत र आपसी छलफल गरेर लगन निकालेका हुन्छौं, तर यसको
उल्लंघन गर्ने काम भैरहेको छ' ढुंगेलले भन्नुभयो । शास्त्रले दिउँसो १२
बजेदेखि साँझसम्म विवाह गर्न हुँदैन भनेको छ । तर हिजोआज यही समयमा बढी
विवाह हुन्छ । 'जन्ती ढिलो पुगेको, नभ्याएको भनेर लगनको दिन पनि समयको
ख्याल गरिएको हुँदैन' ढुंगेलले भन्नुभयो-'लगनमा, त्यो पनि समयमै विवाह
गर्नेहरु निकै नगण्य मात्रै छन् ।'
जथाभावी गर्दाको असर
धर्मगुरुहरुका अनुसार लगन र समयको ख्याल नगरी विवाह गर्दा दम्पत्ती,
घरपरिवार र समाजमा नकारात्मक असर परिरहेको छ । तर यसमा कसैले ख्याल गरेको
हुँदैन । 'विवाह हुने बित्तिकै कसैको मृत्यु भयो या छिटै सम्बन्ध विच्छेद
भयो भने मात्र मान्छे झल्याँस्स हुन्छन्, तर कालान्तरमा हुने असरको चाहिँ
ख्याल गर्दैनन्' पञ्चांग निणर्ायक समितिका सदस्य सचिव ढुंगेलले भन्नुभयो
। उहाँका अनुसार दम्पत्तीबीच मनमुटाब, पारिवारिक कलह, सन्तान प्राप्तीमा
दोष, स्वास्थ्यमा समस्या लगायतका असरहरु बढ्दै गएका छन् । 'विवाह जस्तो
महत्वपूर्ण कुरामा अरु विषयजस्तै लगन र समयको महत्व निकै छ भन्ने कुरा
बुझ्न जरुरी छ' ढुंगेलले भन्नुभयो ।
पण्डित सम्मेलनको तयारी
विवाह लगायतका धर्मशास्त्रका धेरै कुरामा विकृति, विसंगति फैलिन थालेको
भन्दै धर्मगुरुहरुले बृहत पण्डित सम्मेलनको तयारी गरेका छन् । 'देशभर
काजकर्म, संस्कार र धार्मिक कार्यलाई एकरुपता ल्याउने हिसाबले हामीले
सम्मेलन गर्ने सोच बनाएका हौं' नेपाल पञ्चांग निणर्ायक समितिका अध्यक्ष
प्रा.डा. माधवप्रसाद भट्टराईले अनलाइनखबरसित भन्नुभयो-' गाउँका न्यायधीश
मानिने पुरोहितहरुले जथाभावी गर्न थालेपछि अब सुधार नगरी नहुने भएको छ ।'
समिति र धर्मसभा नेपालको आयोजनामा हुने सम्मेलनमा देशभरका पण्डित,
पुरोहित प्रतिनिधिहरुलाई सहभागी गराउने लक्ष्य लिएको ढुंगेलले जानकारी
दिनुभयो । उहाँका अनुसार चैतसम्ममा सम्मेलन गर्ने तयारी छ ।

No comments:

Post a Comment