Thursday, November 8, 2012

बस ठोक्किँदा एकको मृत्यु, २४ यात्रु घाइते

सप्तरी, कार्तिक २३ - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पंसेरा–९
अमहामा आज बिहान दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु
भएको छ भने २४ बढी यात्रु घाइते भएका छन् ।
सदरमुकाम राजविराजबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ६६३३ नम्बरको कालिका
बस र काठमाडौँबाट फत्तेपुरतर्फ आउँदै गरेको ना४ख ४७३५ नम्बरको देउराली बस
बिहान करिब ५:४५ बजे एक आपसमा ठोक्किँदा कालिका बसका चालक राजविराज–८
निवासी रामचन्द्र गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा कालिका बसमा सवार यात्रुहरु बढी मात्रामा घाइते भएका छन् ।
देउराली बसका चालक इलाम राँके–३ निवासी ३५ वर्षीय कुमार लिम्बू गम्भीर
घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरान पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
अन्य घाइतेहरुको सिरहाको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट आउँदै गरेको बसका चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने
प्रहरीको आशङ्का रहेको छ । रासस

No comments:

Post a Comment