Sunday, October 7, 2012

काठमाडौमा युरोपेली मापदण्डको बस

२१ असोज, काठमाडौ । साझा यातायातले वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै
काठमाडौँमा युरोपेली मापदण्डको बस सञ्चालन गर्ने भएको छ। काठमाडौँ
उपत्यकाको प्रदूषणलाई कम गरी यात्रुलाई स्तरीय सुविधा दिने उद्देश्यले
साझाले प्रदूषण मापदण्ड युरो-३ को आधुनिक बस सञ्चालनको तयारी गरेको हो।
उक्त बस खरिदका लागि साझाले हालै भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटरको
नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ कम्पनी लिमिटेडसँग सम्झौता
गरेको छ।
अहिलेसम्म नेपालका सार्वजनिक बस युरो- १ र २ मापदण्डका मात्र भएको साझाको
दाबी छ। युरो मापदण्डका १६ वटा बस खरिदका लागि सबै प्रक्रिया सकिएको र
आगामी चार महिनापछि बस सेवा सञ्चालनमा आउने साझा सहकारी यातायातका
प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।
साझाले दुई रुटमा बस सञ्चालनका लागि यातायात विभागसँग इजाजत लिएको बताएको
छ। जसअनुरुप हरिहरभवन-त्रिपुरेश्वर-रानीपोखरी-कमलपोखरी-गौशला-कोटेश्वर-सातदोबाटो
हुँदै लगनखेलसम्म पाँच किलोमिटर दूरीको एउटा रुट छ भने अर्कोतर्फ
सातदोबाटो-लगनखेल-जावलाखेल-त्रिपुरेश्वर-टेकु-कालिमाटी हुँदै
लगनखेलसम्मको १६.४ किलोमिटरको लामो दूरीको रुट रहेको छ। साझाले यी दुवै
रुटमा दुईतर्फी सेवा दिनेछ।
विविध कठिनाइका कारण पटक-पटक बन्द हुँदै आएको साझा यातायात स्थापनाको ४०
वर्षपछि पुनः सञ्चालनमा आउन लागेको हो। रासस

No comments:

Post a Comment