Monday, October 8, 2012

साल अड्किएर सुत्केरीको मृत्यु

२२ असोज, सोलुखुम्बु । जिल्लाको गुदेल गाविसमा साल अड्किएका कारण
सुत्केरी भएको दुईदिनपछि एक महिलाको मृत्यु भएको छ । गुदेल-२ तुमाउकी
करिब ३२ वर्षीया नन्दकुमारी कुलुङ गत शुक्रबार सुत्केरी भएको भए पनि साल
नझरेका कारण आइतबार दिउँसो उनको ज्यान गएको स्थानीय सामाजिक परिचालक
भुपेन्द्र कुलुङले जानकारी दिए।
शुक्रबार सुत्केरी भएर साल नझरेपछि कुलुङ शनिबार बेहोस हुनुभएको थियो।
कुलुङ बेहोस भएपछि स्थानीय उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले साल
निकालिदिएका थिए। साल निकालेको चार घन्टापछि होस आएको भए पनि होस आउनासाथ
उनको मृत्यु भएको थियो।
कुलुङले यसपटकसमेत गरी आठ सन्तानलाई जन्म दिनुभएको हो। पन्ध्र वर्षकै
उमेरमा विवाह गरेकी कुलुङका दुई सन्तानको भने मृत्यु भइसकेको छ। सबै
छोराछोरी स-साना भएकाले श्रीमतीको मृत्युबाट अब छोराछोरी हुर्काउन समस्या
भएको उनका श्रीमान् रामकुमार कुलुङले बताए।
जिल्लाको अत्यन्तै दुर्गम गाविस गुदेलमा सुत्केरी हुँदा केही जटिल समस्या
आएमा स्थानीय स्वास्थ्य संस्थामा उपचार नहुने र अन्यत्र लैजान भौगोलिक
विकटताका कारण असम्भव भएकाले समयमै उपचार पाउन सक्दैनन्। गुदेलमा
सुत्केरी हुँदा उपचार नपाएकै कारण वर्षेनी करिब ६ जनामहिलाको ज्यान जाने
गरेको स्थानीय उपस्वास्थ्य चौकीले जनाएको छ। रासस

No comments:

Post a Comment