Monday, October 8, 2012

हत्या गरेर १८ वर्षदेखि गायब रहेका अभियुक्त प्रहरीको फन्दामा

२२ असोज, वीरगन्ज । कर्तव्य ज्यान मुद्दाका एकजना आरोपित व्यक्तिलाई
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला बहादुरगन्ज-६
का ५६ वर्षीय अब्दुल गफार रहेका छन्। उनलाई नेपाल प्रहरीले विगत १८
वर्षदेखि खोजी गरिरहेका थिए।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ता वीरगन्जवाट खटी गएको
टोलीले आइतबार इनर्वाबाट उनलाई पक्राउ गरेको हो।
गफारले २०५१ साल भदौ ५ गते भारतीय नागरिक कल्लु बढइलाई कपिलवस्तुको
शिवनगरमा हत्या गरी फरार रहेको आरोपमा प्रहरीले उनलाई खोजीको सूचीमा
राख्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कपिलवस्तुले गफारलाई हत्याको मुख्य अभियुक्त बनाई २० वर्षको
कैद सजाय तोकिएको प्रहरी निरीक्षक सुजन जोशीले बताए।
गफार विगत केही समययता पर्सामा आश्रय लिई तस्करी गरिरहेको प्राप्त
सूचनाका आधारमा प्रहरीले उनलाई खोजी सुरु गरिरहेकामा वीरगन्ज
उपमहानगरपालिका-१९ इनर्वा गाउँको एउटा घरमा सुतिरहेको अवस्थामा उनलाई
प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुजन जोशीले बताए।
पक्राउ परेका गफारबारे आवश्यक कानुनी कारबाही र अनुसन्धान सुरु गरिएको
जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, सशस्त्र प्रहरी सीमा सुरक्षा बल सबैठबाले तस्कर समूहबाट दुई
क्विन्टल २० किलोग्राम प्रतिबन्धित लागुपदार्थ गाँजा बरामद गरेको छ।
प्राप्त सूचनाको आधारमा सबैठवा-३ लक्ष्मीपुरबाट गएराति सशस्त्र प्रहरीले
उक्त परिणामको गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ लैजाँदै गरेको
अवस्थामा झन्डै डेढ दर्जनको सङ्ख्यामा रहेका तस्कर समूहले सशस्त्र
प्रहरीको गस्ती टोलीलाई देखेपछि ११ पोकामा रहेको उक्त परिमाणको गाँजा
फालेर भागेका थिए।
बरामद गरेको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय
पोखरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। रासस

No comments:

Post a Comment