Tuesday, October 9, 2012

दशैँ बसलाई हतियारसहितको प्रहरीले सुरक्षा दिने

२३ असोज, रसुवा । चाडपर्वका समयमा जिउज्यानको सुरक्षाका लागि पासाङल्हामु
मार्गको स्याफ्रुबेँसीदेखि बेत्रावतीसम्म चल्ने यात्रुबाहक बसमा
हतियारसहितका प्रहरीको व्यवस्था मिलाइने भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुदीप गिरीका अनुसार चाडपर्वका
समयमा गरगहनामा सुशोभित हुने र पैसा बोकेरे घर आउने यात्रुलाई हुन सक्ने
लुटेराको आक्रमण र बसका छतमा राखेर यात्रा गराउने चलन अन्त गर्न
हतियारसहितको प्रहरी सुरक्षा व्यवस्था गरिएको हो।
चाडबाडमा हुने जुवातास बन्द गर्ने, पर्यटकीय क्षेत्रमा प्रहरी गस्ती
गर्ने, पर्यटकका लगत अद्यावधिक गर्न लगाउने, अवैध सामग्री ओसारपसारमा
विशेष निगरानी बढाउने, दसैँ तथा तिहारमा बसको सङ्ख्या थप गराउने जस्ता
प्रक्रिया अगाडि बढाइसकिएको समेत प्रहरी प्रमुख गिरीले जानकारी दिए।
चाडपर्वका अवसरमा अपरिचित समूह आई झैझगडा हुने सम्भावना बढेमा, अशान्ति
हुने देखिएमा वा कुनै घटना भएमा तुरुन्त नजिकको प्रहरी चौकी वा जिल्ला
प्रहरी कार्यालय रसुवाको टेलिफोन नं ०१०-५४०१९९ र ०१०-५४०२०० मा खबर गरी
शान्तिसुरक्षा कायम राख्ने कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्लावासीसामु
प्रहरीले आग्रह गरेको छ। रासस

No comments:

Post a Comment