Monday, September 3, 2012

पेटमा ११ किलो ट्युमर भएकी महिलालाई सहयोग

ओखलढुंगा, भाद्र १८ - डिम्बाशयमा बढेको ११ किलोको ट्युमर शल्यक्रियापछि थप उपचार गराउन आर्थिक अवस्था कमजोर भएकी यहाँको माधवपुर ७ की १८ वर्षीया नेपीमाया मगरलाई आर्थिक सहयोग गर्न ओखलढुंगा सामुदायिक अस्पतालले अपिल गरेको छ ।
थप उपचारका लागि भरतपुर वा काठमाडौं लानुपर्ने भएपछि उनको परिवार आर्थिक अभावले उपचार गराउन नसक्ने अवस्थामा छ । आइतबार यसबारे कान्तिपुरमा प्रकाशित समाचार पढेपछि अस्पतालले सम्पूर्ण दाता तथा व्यक्तिलाई सहयोग गर्न आह्वान गरेको हो ।
'अहिलेसम्म हामीले यहाँ गरिएको उपचारमा पनि सहुलियत गराएका छौँ भने उनलाई थप आर्थिक सहयोग गर्नका लागि अपिल गरेका छौं,' अस्पतालका जनसम्पर्क अधिकृत कुल गिरीले भने, 'यदि खुला दिलले सहयोग गर्नुभएमा उहाँका नाममा प्राप्त सम्पूर्ण रकमा नेपीमायाकै उपचार खर्चस्वरूप प्रदान गरिनेछ ।'
नेपीमायको उपचारका लागि सहयोग गर्न अस्पतालले राष्ट्रिय वाणिज्य बैंकमा रहेको अस्पतालकै बचत हिसाब नं.२०७००००३३४०१ मा भौचरमा स्पष्ट रूपमा नेपीमायाको उपचारार्थ सहयोग उल्लेख गरी रकम जम्मा गरिदिन अपिल गरेको छ । नेपीमायालाई सहयोग गर्न देश-विदेशबाट दर्जनौंले चासो देखाए पनि सहयोग संकलन गर्ने निश्चित ठेगाना नभएपछि असहज भएको थियो ।
सहयोग पाउने आशामा परिवार भने खुसी भएका छन् । 'उपचार गराउन पैसा सहयोग पाए त राम्रो हुन्थ्यो नि,' नेपीका बुबा पूर्णले भने । पेटमा बढेको ट्युमर का कारण उनलाई समाजमा अवैध पेट बोकेको भन्दै मानसिक पीडा दिएका थिए ।

No comments:

Post a Comment