काठमाडौ, आश्विन ६ - बिहीबार राति ९:४५ बजे सीएनएन हिरो को उत्कृष्ट दसमा
आफू परेको खबर सुनेपछि पुष्पाका आँखा रसाए । उनी रातभरि सुत्न सकिनन् ।
'खुसीले निदाउँदै सकिनँ,' उनले भनिन्, 'राम्रो कामको ढिलो-चाँडो कदर हुने
रहेछ ।'
सीएनएन हिरो - २०१२ का प्रतिस्पर्धीमध्ये विश्वव्यापी मत पाएका दसमा
पर्ने पुष्पा सबभन्दा कान्छी र एसियाकी दोस्री (अफगानिस्तानकी एक महिला
पनि छन्) हुन् । पुष्पा सीएनएनले सार्वजनिक गरेको सूचीमा सबभन्दा अगाडि
छिन् । उत्कृष्ट दसका हरेक उम्मेदवारलाई ५० हजार डलरको पुरस्कार दिइने छ
। प्रथम विजेतालाई चाहिँ थप २ लाख ५० हजारको पुरस्कार पनि दिइने सीएनएनले
जनाएको छ ।
उत्कृष्टको नतिजा सार्वजनिक गर्नेबित्तिकै सीएनएनले बिहीबारैबाट
विश्वव्यापी मतदान पनि खुला गरेको छ । जसले बढी मत ल्याउँछ उसैलाई आगामी
डिसेम्बर २ मा सीएनएन हिरा- २०१२ घोषणा गरिनेछ । मतदान नोभेम्बर २८ को
मध्यरातसम्म गर्न पाइने छ । 'अब म सीएनएन हिरो बन्ने/नबन्ने मतदाताहरूकै
हातमा छ,' पुष्पा भन्छिन्, 'मेरो काम मन पराउने सबैसँग मतका लागि आग्रह
गर्छु ।'
' सीएनएन हिरो डटकम' खोलेर पुष्पालाई सोझै मत हाल्न सकिन्छ । सीएनएनको
नियमअनुसार एक दिनमा एक जनाले एउटा इमेलबाट दसवटा मत हाल्न पाउँछ । दसवटा
इमेल भए दसैवटा इमेलबाट एकै जनाले एकै दिनमा सयौं मत पुष्पालाई दिन
सक्नेछ । फेसबुक र ट्वीटरको प्रयोग गरेर पनि मत हाल्न पाइने छ ।
अपराधमा सजाय पाएका आमासँगै जेलमा बस्ने बालबालिकाको शिक्षादीक्षा र
पालनपोषणमा आफ्नो जीवनसमर्पण गर्ने युवती हुन् पुष्पा । 'बालबालिकाहरू
बाआमासँगै जेलमा परेको देखेर पुष्पा स्तब्ध भइन्, २१वर्षकै उमेरमा उनले
तिनका लागि 'अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर' खोलिन्,' सीएनएनले जारी
गरेको विज्ञप्तिमा भनिएको छ, 'सन् २००५ देखि उनले जेलमा परेका बाआमाका १
सय ४० भन्दा बढी बच्चालाई शिक्षा, आवास र स्वास्थ्य सेवा उपलब्ध गराएकी
छन् ।' सीएनएनले भनेजस्तै भर्खर २८ वर्ष पुगेकी पुष्पा ७ वर्षदेखि
परिवारै छाडेर बालबालिकाको स्याहारसुसारमा दत्तचित्त छिन् ।
बच्चाहरूको सम्पर्कमा आउनुअघि सम्पन्न परिवारकी कान्छी छोरी पुष्पा सेन्ट
जेभियर्समा 'सामाजिक सेवा'पढ्थिन् । 'प्रोजेक्ट वर्क' को सिलसिलामा
केन्द्रीय कारागारको महिला बन्दीगृह जाँदा आमासँगै जेलमा बस्न बाध्य
बालबालिका उनले देखिन् । एउटा बालिकाले पुष्पाको लुगा समातेर उनीसितै
जाउँला जसरी हेरिन् । 'त्यो दिन मलाई सबैभन्दा नमज्जा लाग्यो,' पुष्पा
भन्छिन्, 'रातभरि जेलमा परेका ती सानी केटीलाई सम्भिmरहें ।'
पुष्पा निकै दिनसम्म घोत्लिएर बसिन् । अन्ततः तिनै बालबालिकाका लागि
'केही गर्ने' निर्णयमा पुगिन् । उनी र्फकेर जेलमै पुगिन् । आमासँगचाहिँ
बच्ची मागिन् । सिन्धुपाल्चोककी सञ्चु तामाङकी आठ महिनाकी छोरी थिइन् ती
।
बडो ढिँपी गरेर पुष्पाले सञ्चुलाई मनाइन् । तर जेलरले रोके । बच्चीलाई
जेलभित्र कुनै सहयोग गर्न नमिल्ने, जेल बाहिर लैजान दर्ता भएको सामाजिक
संस्थाचाहिने अत्तो उनले थापिदिए । सारा काम छाडेर संस्था दर्ता गर्नतिर
लागिन् उनी । साथीहरूलाई जम्मा गरिन् । आफन्तलाई फकाइन् । ९ जना जसोतसो
जम्मा गरेर दर्ता गरिन्, अर्ली चाइल्डहुड डेपलपमेन्ट सेन्टर ।' आफ्नो
गहना बेचेर, आमासँग पैसा मागेर र साथीभाइसँग सापट गरेर पुष्पाले ७० हजार
जम्मा गरिन् ।
त्यही पैसाले सुन्धाराको एउटा घरमा सानो पाठशालाजस्तो बालकेन्द्र खोलिन्
। सुरुमा जेलभित्रका चार बच्चा बिहानै उनी त्यहाँ ल्याउँथिन् । तिनको
स्याहारसुसार गरिदिन्थिन् । खेलाउँथिन् । पढाउँथिन् । अनि बेलुका जेलमै
फर्काउँथिन् । ६० बच्चाहरू आमा जेलबाट छुटेपछि घर गए। अहिले पुष्पाका
साथमा ४४ बच्चाहरू छन् । ती सबै अहिले चपली गाउँको एउटा घरमा बस्छन् ।
उनीहरू सबै पुष्पालाई 'मामु' भनेर बोलाउँछन् । पुष्पा बाआमालाई छाडेर
उनीहरूसँगै बस्दै आएकी छन् । पुष्पाको यही कामबाट प्रभावित भई सीएनएनले
यस वर्षको प्रतियोगितामा उनलाई छानेको थियो । अमेरिकी समयअनुसार बिहीबार
१२ बजे (नेपालमा बेलुकाको पौने १०) को समयमा उत्कृष्ट १० को सूची
सार्वजनिक हुने जानकारी पुष्पालाई पहिल्यै थियो । बच्चाहरू पनि
टेलिभिजनमा लाइभ हेर्न पर्खेर बसेका थिए ।
'मामु तपाईं पक्का छानिनुहुनेछ,' बच्चाहरू पूरै आत्मविश्वासका साथ
पुष्पालाई ढाडस दिइरहेका थिए । उनलाई भने छानिने हो कि होइन भन्ने दुविधा
थियो । उनी सीएनएन हेर्न निकै व्यग्रताका साथ बसिरहेकी थिइन् ।
'तर त्यसै दिन केबुलमा सीएनएन नै आएन, उतिमाथि बत्ती पनि गयो,' पुष्पाले
भनिन्, 'अनि मैले लाजिम्पाटमा साथीको अफिसमा पुगेर अनलाइनबाट हेरें, म
छानिएको थाहा पाएपछि यति धेरै खुसी भएँ कि त्यसलाई व्यक्त गर्ने शब्द नै
मसँग भएन ।'
पुष्पा लाजिम्पाटबाट सीधै चपलीस्थित बालकेन्द्रमा पुगिन् । त्यहाँ केही
साना बच्चाबाहेक अरू सबै समाचार सुन्न अधीरताका साथ पर्खेर बसेका थिए ।
पुष्पाले तिनलाई खबर सुनाएपछि बच्चाहरू पनि निकै खुसी भए । शुक्रबार
बिहानै पुष्पाले सबै बालबालिकालाई खुसीको चकलेट बाँडिदिइन् । 'उनीहरू
पढ्ने स्कुलमा पनि बाँडिदिन चकलेटको व्यवस्था गरेको छु,' पुष्पा भन्छिन्,
'मेरा नानीबाबुको खुसी देखेर म झनै खुसी छु ।'
http://www.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html
No comments:
Post a Comment