Saturday, September 22, 2012

काठमाण्डौंमा डकैती गर्ने जनशक्ति भारतको

काठमाण्डौंमा डकैती गर्ने जनशक्ति भारतको
काठमाण्डौं । काठमाण्डौंमा डकैती गर्न भारतबाट ‘दक्ष जनशक्ति’ ल्याउने गरेको भेटिएको छ । विभिन्न ठाउँको ‘स्केच’ तयार पारी डकैत गर्ने गिरोहका योजनाकारलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले भारतको विहार समस्तीगन्ज चकमेसी थाना चोकका विजय गुप्तालाई स्केचसहित बिहीबार डल्लुबाट पक्राउ गरेको छ । डकैती गर्न गुप्ताले भारतबाट नै मान्छे ल्याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुप्ताको साथबाट बौद्धस्थित निमा लामाको अन्नपूर्ण कार्पेटमा डकैत गर्न तयार पारेको ‘स्केच’ बरामद गरिएको छ । ‘स्केच’मा दीपक झा र अरुण झा भनी उल्लेख छ । त्यसको तल कार्पेटको ग्राउन्ड फ्लोरको सम्पूर्ण ‘स्केच’ उतारिएको छ । ‘स्केच’को एकातर्फ ‘इन्ट्रान्स’ लेखिएको छ भने अर्कोतर्फ ‘एक्जिट’ लेखिएको छ । प्रहरीका अनुसार ‘इन्ट्रान्स’ लेखिएको स्थानबाट डाका समूह कार्पेट उद्योगमा प्रवेश गर्ने र ‘एक्जिट’ लेखिएको ठाउँबाट डाँका गरेपछि सुरक्षितसाथ निस्कने भनिएको हो । त्यसको तल्लो पंक्तिमा रंगशाला, त्रिपुरेश्वर, थापाथली चोक, नर्भिक अस्पताल, प्रसूतिगृह देखिने गरी अर्को स्केच तयार गरिएको छ । ‘स्केच’बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
महाशाखाका डिएसपी हिमालयन श्रेष्ठका अनुसार डकैत गर्ने स्थानको छनोट गुप्ता आफँैले गर्ने र गोप्य तवरले ‘रेकी’ गरेको पाइएको छ । त्यसपछि मात्रै उनले त्यस ठाउँको ‘स्केच’ उतारी जनशक्ति छनोट गर्थे । सबै कार्य पूरा भएपछि हतियारसहित भारतबाटै डाका समूह झिकाउँथे उनले । उनीहरूलाई ‘स्केच’का आधारमा डकैत गर्ने स्थानबारे जानकारी गराउँथे । समय मिलाएर उनीहरू हतियारसहित डकैत गर्न तोकिएको स्थानमा पुग्थे । ‘यस्तै उपाय अपनाएर उनीहरूले काठमाण्डौंकाधेरै स्थानमा डकैती गरिसकेको पाइयो,’ डिएसपी श्रेष्ठले भने ।
३ साउनमा गुप्तासहितको समूहले गोगंबुस्थित धौलागिरि सुनचाँदी पसल सञ्चालक हेमबहादुर सेन्चुरीलाई लुट्न खोजेका थिए । सेन्चुरीले प्रतिकार गरेपछि उनीहरू गोली फायर गरी भागेका थिए । प्रहरीका अनुसार उक्त योजना सफल भए उनीहरू १५ दिनभित्र बौद्धस्थित लामाको कार्पेट उद्योगमा डकैत गर्ने योजनामा थिए । गुप्ताबाट बरामद ‘स्केच’ त्यहीबेला तयार गरेको पाइएको डिएसपी श्रेष्ठले बताए ।
उक्त समूहले काठमाडौंबाट मात्रै ७५ लाख रुपियाँ बराबरको धनमाल डकैत गरी भारत लगिसकेको प्रहरी अनुसन्धानले देखाएको सौर्य दैनिकमा खबर छ । प्रहरीका अनुसार गुप्ता समूहले २० असारमा सीतापाइला–२ स्थित राजेन्द्र श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गहना गरी १५ लाख रुपियाँबराबर डकैत गरेको थियो । गत १० माघमा टेकुस्थित प्रकाश अग्रवालको घरबाट पनि ४० लाख रुपियाँ र सुनका गहना डकैत गरेका थिए ।

No comments:

Post a Comment