Saturday, September 1, 2012

नक्कली प्रहरी बनेर ठग्ने दुईजना पक्राउ

मनोज अधिकारी, पोखरा, भदौ १६- नक्कली प्रहरी बनेर लामो समयदेखि सर्वसाधारणबाट रकम लिएर ठगी गर्दै हिंड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नक्कली प्रहरी बनेर रकम असुली गरिरहेको अवस्थामा नौडाँडा चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा-११ फुलबारी वस्ने वर्ष २५ का शंकर नेपाली र सोही ठाउँका २५ वर्षे पप्पु भन्ने टपबहादुर नेपाली छन्।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले विगत ६/७ महिनादेखि नै यस्तो काम गर्दै आएको स्वीकार गरेका छन्। ती दुवैजनाले विभिन्न ठाउँमा अनैतिक एंवम गैह्रकानूनी कार्य गर्ने व्यक्तिलाई आफुहरु सादा पोशाकका प्रहरी भन्दै नियन्त्रणमा लिने र रकम असुलेर छाड्ने गरेको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए।
उनीहरुले पोखरा-११ फुलबारीको मणिपाल शिक्षण अस्पताल नजिकै तीन दिनअघि मात्र एक जोडीसँग दुई सय ५० र एक बृद्वसँग एक हजार असुलेका थिए। यस्तै भलाम जाने बाटोबाट दुई जोडीसँग क्रमशः एक हजार र १८ सय रुपैयाँ असुलेको प्रहरीले बताएको छ। अहिलेसम्म कसैले उनीहरुविरुद्व सूचना नगरेकाले लामो समय विभिन्न व्यक्तिबाट रकम असुल्न पाएको प्रहरीको भनाई छ।
गत बिहीबार पोखरा-६ बैदामका सन्तोष भण्डारीसँग काँडेमा उनीहरुले प्रहरी हौं भन्दै तीन सय रुपैयाँ असुलेपछि प्रहरीले बल्ल घटनाबारे जानकारी पाएको थियो। प्रहरीले यस्ता घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास गरिरहेको जनाएको छ। पक्राउ परेका दुवैलाई केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तर्गत कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment