Monday, June 25, 2012

प्रधानमन्त्री फर्कँदा कालो झण्डा देखाउने तयारी

काठमाडौं, असार ११ (नागरिक)- ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी भई आज दिउँसो स्वदेश फर्कन लागेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाउने तयारी गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनी जेट एयरवेजमापौने तीन बजे काठमाडौं आइपुग्दैछन्। नेविसंघले प्रधानमन्त्रीलाई विमानस्थल जाने बाटोमा कालो झण्डा देखाउने तयारी गरेको छ।
प्रतिपक्षी दलहरुको विरोधका बीच ३२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार ब्राजिल प्रस्थान गर्दा पनि कङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाई विरोध गरेका थिए। विमानस्थल नजिकै उनीहरुले प्रधानमन्त्रीको गाडीलाई रोक्न खोज्दा प्रहरी रप्रदर्शनकारीबीच झडपसमेत भएको थियो। झडप भएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको मोटरकेडमा ढुंगा हानेका थिए। ढुंगामुढाबाट सुरक्षाकर्मीका दुई गाडीमा क्षति पुगेको थियो।
[image]
जाँदा भएको विरोधः प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिल जान लाग्दा कङ्ग्रेस कार्यकर्ताले गरेको विरोध। फाइल फोटोः एपी
रियो दि जेनेरियोमा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो, भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज, नर्वेका प्रधानमन्त्री जिन्स स्टोल्टनवर्ग, अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलाड्स लगायतसँग द्विपक्षीय वार्ता गरेका थिए।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment