Thursday, August 30, 2012

‘अनुसन्धानमा आशालाग्दो उपलब्धि’

मन्थली, भाद्र १४ - बलात्कारपछि हत्या गरिएकी रामेछापकी १४ वर्षीया
बालिका सुन्तली तामाङको हत्यामा सम्लग्नहरूको खोजीमा जुटेको प्रहरीले
केही आशालाग्दो उपलब्धि हासिल गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापद्वारा बिहीबार मन्थलीमा आयोजित पत्रकार
भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक गोपालचन्द्र भट्टराईले उक्त
कुराको जानकारी दिएका हुन् । केही दिन अघि मात्र सरुवा भएर जिल्लामा आएका
उनले उक्त घटनालाई सबैभन्दा बढी प्राथमिकता दिएर अनुसन्धान थालेको बताए ।
'विगतमा पनि केही काम भएका थिए' उनले भने- अहिले भएको अनुसन्धानका क्रममा
त्यसभन्दा थप केही तथ्य प्राप्त भएका छन् ।
रामेछापको बिजुलीकोट-१ सिसन्दुकी तामाङलाई स्थानीय सिरिसेबजारबाट घर
आउँदै गर्दा बाटोमा छिमेकी श्याम राउतले बलात्कार गरी हत्या गरेको जाहेरी
जिल्ला प्रहरी कार्यालयमा परेको थियो । जाहेरी समयमा नलिएको र अनुसन्धान
ढिला भएको भन्दै बालिकाकी आमा डिल्लीमाया तामाङले मुख्य सचिवसम्म पुगेर
गुनासो गरेपछि अनुसन्धानको पाटोलाई प्रहरीले तिब्र बनाएको हो ।
घटनाको संवेदनशीलतालाई हेरेर जिल्लामा हाजिर हुनासाथ तामाङ मारिएको
घटनास्थलसम्म प्रहरी प्रमुख भट्टराई आफैं पुगेका थिए । उनले स्थानीयसँग
घटनाको बारेमा जानकारी लिएको जनाइएको छ । गत माघ ५ गते तामाङको हत्या गरी
लिखु खोलामा लास फालिएको दाबी परिवारजनको छ । तामाङको लास माघ २० गते
लिखु नदीको बगरमा फेला परेको थियो । पीडित परिवारले बालिकाको हत्यामा
राउतको नाम किटान गरी कारबाहीका लागि रामेछाप प्रहरीमा फागुन ३ गते
जाहेरी दर्ता गराएको थियो । प्रहरीमाकिटानी जाहेरी परेपछि आरोपित राउत
फरार छन् । प्रहरीले उनको खोजीलाई तिव्र बनाएको जनाउँदै आएको छ ।
यसैबीच हत्यामा सम्लग्न राउतको नाममा किटानी जाहेरी दर्ता गराएर फर्केकी
आमा डिल्लीमाया तामाङ लगायत परिवारजनलाई राउत परिवारले ज्यान लिने धम्की
दिएपछि उनको परिवार रामेछापबाट विस्तापित हुन बाध्य भएको समाचार आएका छन्
। हाल उनीहरूको परिवार सिन्धुलीमा रहेका आफन्तजनसँग शरण मागेर गुजारा
चलाउँदै आएको छ ।
बिहीबार पत्रकारसँगको भेटमा प्रहरी नायव उपरीक्षक भट्टराईले आफू कसैको
दबाब र प्रभावमा परेर काम गर्न बाध्य नहुने जनाए । 'म निष्पक्ष र निर्भिक
भएर काम गर्छु 'भट्टराईले भने- चाहे २ महिनानै किन सरुवा नहोस् । उनले
राजनीतिक दलका प्रतिनिधिले समेत निष्पक्ष भएर काम गर्ने प्रेरणा दिई
सकेको खुलासा गरे । बुधबार जिल्लाका दलका प्रतिनिधिसँग भट्टराईले भेटघाट
गरेका थिए ।
कार्यक्रममा प्रहरीबाट कुनै पनि सूचना नलुकाई चाडोभन्दा चाडो
सञ्चारकर्मीलाई उपलव्ध गराईदिन सञ्चारकर्मीले आग्रह गरेका थिए ।
भट्टराईले सूचना दिन आफूले कन्जुस्याईं नगर्ने जनाउँदै दोहोरो सूचना हुनु
पर्नेमा जोड दिए । उनले जिल्लाका प्रहरी युनिटहरुलाई सकारात्मक कामका
लागि बिहीबार सञ्चारमार्फत निर्देशन दिएका छन् ।

No comments:

Post a Comment