Saturday, August 25, 2012

बाबुरामको लीला अति भो, अब सडकमा घिसार्छौं: गजुरेल

टेकनारायण भट्टराई, पाल्पा, भदौ ९- नवगठित नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीले पद त्याग नगरेसम्म देशमा सहमतिको वातावरण नबन्ने बताएका छन्। पद त्याग्न इन्कार गरिरहे आन्दोलनबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउने उनले चेतावनी दिए।
२० वर्षसम्म यही सरकार टिक्न सक्ने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको भनाईलाई चुनौती दिँदै सरकारको आयु बढीमा तीन महिनामात्रै रहेको उनले दाबी गरे।
नेकपा-माओवादीसहित साना दलहरु सम्मिलित नेपाल संघीय जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका गजुरेलले शनिबार पाल्पामा मोर्चाद्वारा आयोजित गोलमेच छलफलमा बोल्दै भने 'राष्ट्रिय सहमतिको विकल्प छैन, सहमतिका लागि बाबुरामले कुर्सी छाड्नुको पनि विकल्प छैन।' सहमतिको प्रमुख बाधक सरकार रहेको भन्दै प्रधानमन्त्री भट्टराई पदमै रहेसम्म कुनै सहमति नहुने उनले प्रष्ट पारे। 'जबरजस्ती कुर्सीमै टाँसिए बाबुरामलाई घिसारेर सडकमा ल्याउँछौं, अब बाबुरामको राष्ट्रघाती लिला हेरेर बस्न सक्दैनौं।' वर्तमान सरकारले नेपाललाई असफल राष्ट्र बनाउन भुमिका खेलेको उनले आरोप लगाए।
संविधान सभाबाट संविधान नबन्नुमा प्रमुख चारदलको सिन्डिकेट कारण रहेको गजुरेलले बताए। 'चारदलको सिन्डिकेट अब मान्य छैन, सबै दलहरु एकैठाउँ बसेर गोलमेचबाट देशलाई निकास दिनुपर्छ।चारदलले मात्रै गरेको निर्णय स्विकार्य छैन।' संविधान सभा सदस्यहरुले समितिमार्फत् समयमै आफ्नो दायित्व पुरा गरेपनि विवाद समाधान उपसमितिले संविधान अड्काएको उनले आरोप लगाए। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल संयोजक रहेको विवाद समाधान उपसमितिले संविधान निर्माणको काम रोकेर जेठ १४ मा संविधान सभा भंग गर्न भुमिका खेलेको उनको भनाई थियो।
संविधान सभा पुनस्थापना मान्य नहुने भन्दै उनले आफूहरुले प्रस्ताव गरेजस्तै गोलमेच सम्मेलन उपयुक्त बिधि हुने बताए। 'गोलमेचको आव्हान राष्ट्रपति वा प्रधानमन्त्री जसले गरेपनि आपत्ति छैन,' उनले भने 'पुनस्थापित सभाबाट निकास निस्कने कुनै सम्भावना छैन, त्यो हामी मान्दैनौं।' गोलमेच आयोजना गरेर प्रधानमन्त्रीले विदा लिए राम्रो हुने सुझाव दिए।

No comments:

Post a Comment