Monday, August 13, 2012

नयाँ प्रधानमन्त्रीमा रानाभाटको दावी

२९ साउन, काठमाडौं । ‘भटटटलाई कार्वाही गर्, रटटलाई निलम्बन गर्………..’ दोस्रो जनआन्दोलन सफल भएर मुलुकमा लोकतन्त्र स्थापना भएको दिन कांग्रेस कार्यकर्ताले तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा लगाएको नारा हो यो । उतिबेला ज्ञानेन्द्र र पारससँगै तारानाथ रानाभाटको बिरोधमा पनि सडकमा नारा घन्किन्थ्यो । पार्टी र आन्दोलनमा उनको भूमिकाबारे अरुभन्दा बढी कांग्रेस कार्यकर्ता आक्रोशित थिए ।
२०५८ सालमा भएको दरबार हत्याकाण्ड छानवीनसमितिका संयोजक भएर प्रतिवेदन सार्वजनिक गर्ने बेला त्योबेलाका सभामुख रानाभाटले दरबारभित्र गोली यसरी चल्यो भनेर बन्दूक समाउँदै रटटटटटटटटटट, भटटटटटटट भनेका थिए । त्यसैले त्योबेलादेखि उनलाई धेरैले रटटटट र भटटटट भनेर जिस्क्याए । तिनै रानाभाटले जनआन्दोलनको बेला कुनै भूमिका खेलेनन् । पार्टीले सभामुख पद छाड्न आग्रह गर्दा पनि टेरेनन् । आन्दोलनको बिरोध गरे । त्यसैले जनआन्दोलन सफल भएपछि कांग्रेस कार्यकर्ताले उनलाई कार्वाही गर्न माग गरेका थिए । लोकतन्त्र स्थापना भए लगत्तै उनी सभामुखबाट बर्खास्त पनि भए ।
लोकतन्त्र स्थापना भएपछि रानाभाटले ऊबेलाको भूमिकालाई लिएर गल्ती महसुस गर्नुपथ्र्यो । तर त्यसो गरेनन् । जे गरें, ठीकै गरें भनेर उनी पार्टीमा फेरि जम्न खोजे । महाधिवेशनमा उम्मेद्वारी पनि दिए । तर, सफल भएनन् । अहिले उनी कांग्रेसमा भूमिकाविहीन जस्तै छन् । तर, आफू कांग्रेसको सक्रिय कार्यकर्ता नै ठान्छन् उनी ।
पार्टीमा त्यति सक्रिय नदेखिएपनि रानाभाट पूर्व सांसद मञ्चको अध्यक्ष भएर बेलाबेला सार्वजनिक ठाउँमा अनुहार देखाउँछन् । एकताका उनकै नेतृत्वमा संविधान बनाउनको लागि दबाब दिन भन्दै बानेश्वरमा रिले अनसन पनि भयो । संविधानसभा बिघटनपछि फाट्टफुट्ट रुपमा हुने यो काम पनि सेलाएको छ । तर सोमबार फेरि उनले एकपटक आफूलाई चर्चामा ल्याउन खोजे । राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीको रुपमा दावी गरे ।
रानाभाट प्रधानमन्त्री !
तपाईंले प्रधानमन्त्रीमा दावी गर्नुभयो रे नि त भन्ने हाम्रो प्रश्नमा रानाभाटले हाँस्दै भने-’पत्रकारहरुले सोध्नुभयो, मैले पनि योग्य मान्छे म पनि हुँ भने ।’ त्यसै भन्नुभएको कि हुने इच्छा पनि हो भन्ने अर्को प्रश्नमा रानाभाटले भने-’अब प्रधानमन्त्रीको लागि योग्य मान्छे नै म हुँ ।’ कांग्रेसमा आफू कुनै गुटमा पनि नगएर स्वतन्त्र रुपमा रहेको र पूर्व विशिष्ट व्यक्ति पनि भएकाले आफू नै प्रधानमन्त्रीको योग्य उम्मेद्वार रहेको उनको दावी छ ।
‘राजनीतिक निकासको लागि कसैसँग तागत छ ? छैन’ रानाभाटले भने-’अब यो तागत मसित मात्र छ ।’ आफू प्रधानमन्त्री भएमा मुलुकको समस्या चुड्कीको भरमा समाधानहुने पनि रानाभाटले दावी गरे ।
‘छिमेकीलाई सन्तुलनमा राख्ने, जनताको चासो र चिन्तालाई सम्बोधन गर्ने, मुलुकमा एकता कायम गर्ने, सबै विभेदलाई हटाउने, शोषण अन्त्य गर्ने उपाय मसित छ’ रानाभाटले भने-’त्यसैले म प्रधानमन्त्रीको सबैभन्दा बढी योग्य मान्छे हो ।’ रानाभाटले प्रधानमन्त्रीको लागि आफ्नो योग्यता पनि प्रस्तुत गरेका छन् ।
यस्तो छ योग्यता:
प्रधानमन्त्रीको लागि आफ्नो योग्यताबारे रानाभाटले भने -’म दुई पटक मन्त्री भएँ । दुईपटक संसदको सदस्य भएँ । २०४४ देखि २०५८ सम्म कांग्रेसको केन्द्रीय सदस्य भएँ । पार्टीको केन्द्रीय प्रवक्ता भएँ । महामन्त्री भएँ । ०५६ देखि ०६३ सम्म सभामुख भएँ । पञ्चायतकालमा साढे ५ वर्ष जेल बसेँ । ६ महिनाएरियाबन्दी भएँ । १४ सालदेखि राजनीतिमा सकृय भएँ । मेरो पिताजी २००३ सालदेखि कांग्रेसमा सकृय हुनुहुन्थ्इो । उहाँ ०१७ देखि ०२२ सालसम्म जेल बस्नुभयो । जेलमा यातना पाउनुभयो ।’
यी सबै त्याग र तपस्याका कारण आफू प्रधानमन्त्रीको लागि योग्य भएको रानाभाटको भनाई छ । राजनीतिक निकासको लागि आफूसँग भिजन रहेको पनि उनले बताए । तर बिडम्बना अरु त अरु कांग्रेसकै धेरै नेता कार्यकर्ताले रानाभाटलाई विश्वास गर्दैनन् । यस्तो अवस्थामा लक्ष्मण खड्काले प्रधानमन्त्री हुन्छु भन्नु र रानाभाटले रहर गर्नुमा के फरक होला र ?

No comments:

Post a Comment