Monday, August 27, 2012

अनुसन्धानमा अख्तियार उदासीन नेताहरूविरुद्ध ५सय उजुरी

काठमाडौं, भाद्र ११ - भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै नेताहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा ५ सयजति उजुरी परिसके पनि अख्तियारले भने खासै अनुसन्धान गरेको छैन ।
शक्तिशाली दलका शक्तिशाली नेतादेखि साना दलका साना नेताहरूविरुद्ध समेत उजुरी छन् ।
'त्यसबारे हामी छानबिन गरिरहेका छौं,' अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले कान्तिपुरसँग भने, 'दोषी देखिए मुद्दा दायर गर्नेछौं ।'
अनुसन्धान जारी रहेकाले दल र नेताको नाम भने भन्न नमिल्ने पौडेलले बताए ।
मुख्य दलका नेताहरूबीच पदाधिकारी नियुक्त गर्न सहमति नजुट्दा तीन वर्षदेखि अख्तियार आयुक्तविहीन छ ।
आफ्नो दल र आफूप्रति बफादार आयुक्त नियुक्त नगरे आफैंमाथि मुद्दा लाग्ने भयलेउनीहरूले आयोगलाई रिक्त राखेको आरोप लाग्दै आएको छ ।
आयुक्त नभए पनि सचिव भगवती काफ्लेले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्ने, अभियोजन गर्ने र मुद्दा लगाउने आयुक्तको अधिकार प्रयोग गर्दै आएका छन् । काफ्लेकै नेतृत्वमा पनि अख्तियारले तीउजुरीमाथि छानबिन गरी भ्रष्टदेखिएका नेताविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्न सक्छ ।
'तर नेताहरूविरुद्ध अख्तियारले बोल्ने साहस गर्नसकेको छैन,' विशेषका एक अधिकारीले भने, 'नत्र मुद्दा भटाभट दर्ता भइसक्नुपर्ने हो।'
दस वर्षअघि सूर्यनाथ उपाध्यायको नेतृत्वमा अख्तियारले गरेको अनुसन्धानका आधारमा मन्त्री भइसकेका पाँच नेतामाथि विशेषमा दर्ता भएका सबै मुद्दा अदालतबाट किनारा लागिसकेका छन् । अख्तियारले पूर्वमन्त्रीहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता र रवीन्द्रनाथ शर्माविरुद्ध त्यतिबेलै विशेषमा मुद्दा चलाइएको थियो ।
त्यसमध्ये खड्का, वाग्ले र गुप्तालाई सर्वोच्च अदालतले समेत भ्रष्टाचारी ठहर गरी जेल तथा जरिवाना र बिगो भराइसकेको छ । जोशीको मुद्दामा हालै विशेषले फैसलागरी भ्रष्टाचारी ठहर गरिसकेको छ भने शर्माको मुद्दाविरुद्ध केही दिनमै सुनुवाइ हुने भएको छ ।
'त्यसबाहेक हामीसँग कुनै पनि उच्च पदस्थ अधिकारीविरुद्धका नयाँ मुद्दा छैनन्,' विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले भने, 'अख्तियारले दर्ता नै गर्न नल्याएकाले मुद्दा नभएको हो ।'
अख्तियारले भने आफ्नो क्षमताले भ्याएसम्म काम गरेको दाबी गरेको छ ।
'हामीले यो वर्ष मात्रै १ सय १० मुद्दा विशेष अदालतमा दर्ता गरेका छौं,' पौडेल भन्छन्, 'ती सबै भ्रष्टाचारकै थिए ।'
नेताहरूविरुद्ध परेको उजुरीका बारेमा पनि अख्तियारगम्भीर भएको र अनुसन्धानमा लागेको उनले बताए ।
यो वर्ष अख्तियारले दायर गरेको सबभन्दा ठूलो भ्रष्टाचारको मुद्दा सुडान काण्ड भएको विशेषले जनाएको छ ।
'केही मुद्दा कर्मचारीले गरेका स-साना भ्रष्टाचार र घूसबारे पनि छन्,' चन्दले भने, 'नत्र सबै नक्कली प्रमाणपत्रविरुद्ध मुद्दा छन् ।'

No comments:

Post a Comment