Sunday, August 26, 2012

पतिले कान्छी लिएर भागेपछि छोराछोरीको बिचल्ली

सल्यान, भदौ ९- सल्यान स्यानिखाल-४ की २३ वर्षीया सुनिता भण्डारीलाई अहिले दुईवटा छोराछोरी पढाउनर घरखर्च चलाउन समस्या परेको छ। तेह्र वर्षको उमेरमा विवाह गरेकी सुनिताका पतिले कान्छी श्रीमती लिएर घर छाडेपछि उनलाई दैनिक गुजरा चलाउन धौ-धौ परेको हो।
'घर धान्नका लागि न पर्याप्त जग्गा छ, न कुनै पेसा नै', उनले भनिन्, 'केटाकेटीलाई पढाउनुपर्छ भन्ने थाहा छ, तर स्कुल पठाउनका लागि कापी कलम र पोसाक किन्नलाई समेत पैसा छैन।'
घरमा पति हुँदासम्म कुनै समस्या नपरे पनि छाडेर गएपछि साँझ बिहानको छाक टार्नसमेत समस्या हुँदै आएको सुनिताले दुःखेसो पोखिन्। उनले घरको सामान्य खर्चसमेत चलाउन समस्या परेको बताइन्। पति बुद्धिबहादुर भण्डारीले दाङको टरी गाँउबाट कान्छी श्रीमती बिहे गरेर चार वर्ष पहिले काठमाडौं गएका र अहिलेसम्म घरमा कुनै पनि खबर नगरेको सुनिताले बताइन्।
उनीसँगै अहिले नौ वर्षकी छोरी निरुता र सात वर्षका छोरा निरज छन्। सुनिता र बुद्धिबहादुरबीच २०५८ सालमा मागी विवाह भएको थियो। छोराछोरीसमेत भइसकेको अवस्थामा आफ्ना पतिले दोस्रो विवाह गरेर नर्फकनुको कारण बुझ्न नसकेको उनले बताइन्।
आफूलाई जीवन निर्वाहका लागि सीपमूलक तालिम दिनसमेत कसैले सहयोग नगरेको उनको गुनासो छ। रासस

No comments:

Post a Comment