Tuesday, August 28, 2012

अवैध बाटो हुँदै अमेरिका छिरेका युवाद्वारा आत्महत्या

सन्तोष पोखरेल, पोखरा, भदौ १२- अवैध बाटो हुँदै दलालमार्फत् अमेरिका छिरेका कास्कीका एक युवालेआत्महत्या गरेपछि परिवारको बिचल्ली भएको छ। कास्कीकोट-६, काउलेका ३७ वर्षीय कृष्णबहादुर केसीले गत शुक्रबार राती रुखमा पासो लगाएर आत्महत्या गरेका थिए। आत्महत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन।
आफन्त मोहन केसीका अनुसार कृष्णबहादुर करिब २५ लाख रुपैयाँ खर्च गरेर दुई वर्ष अघि अमेरिकाका लागि घरबाट निस्केका थिए। तर डेढ वर्षअघि मात्र अमेरिका छिर्न सफल भएका थिए। ६ महिना लगाएर दलालमार्फत सिंगापुर र मेक्सिको हुँदै अमेरिका छिरेका उनले सुपरमार्केटमा काम गर्दै आएपनि पछिल्लो दुई महिनादेखि बेरोजगार थिए। लामो समय लगाएर दलालमार्फत् अमेरिका जान खोज्दा उनले करिब २५ लाख रुपैयाँ खर्च गर्नुपरेको मोहनले जानकारी दिए।
'सुरुमा २२ लाख रुपैयाँ खर्च लाग्ने भनेपनि पछि थपिँदै गएर २५ लाख रुपैयाँ पुगेको थियो' मोहनले भने, 'अवैध बाटो हुँदै जान खोज्दा समय पनि बढि लाग्यो र खर्च बढ्यो।' अमेरिका जानकै लागि उनले लामाचौरको घर धितोमा राखेर १२ लाख रुपैयाँ ऋण समेत लिएका थिए। 'अमेरिका गएर कमाई गरेर धितोमा राखेको घरलाई आफ्नो नाममा फिर्तामात्र गरेका छन्, बाँकी ऋण अहिलेसम्म चुक्ता भईसकेको छैन' उनलेभने।
सुपरमार्केटमा काम पाएका कृष्णबहादुर पछिल्लो समय शारिरिक अस्वस्थताका कारण बेरोजगार थिए। सुरुमा दैनिक १२ घण्टा सम्मको काम पाएका कृष्णले बिरामी भएपछि ८ घण्टामा झारेको उनले बताए। 'बिरामी भएपछि ८ घण्टाको काम पनि गर्न नसकेको भन्दै दुई महिनादेखि बेरोजगार बसिरहेका थिए' उनले भने, 'मानसिक तनावमा भएजस्तो लाग्छ।' कृष्ण आफन्तसँगै अमेरिकामा बस्दै आएका थिए। कृष्णबहादुरले केहि समयदेखि खाईरहेको औषधि आफैले नेपालमा किनेर अमेरिकासम्म पठाईदिएको मोहनले जानकारी दिए।
अमेरिका जानुअघि कृष्णबहादुर करिब ८ वर्ष कतारमा बसेका थिए। दश कक्षासम्म मात्र पढेका उनी कतारमै बिरामी भएपछि नेपाल फर्केका थिए। भारतको मद्रासमा उपचार गरेर निको भएका उनी थप कमाउने चाहना राखेर अमेरिका गएका थिए। 'केहि कमाउने आशमा लुकिलुकि धेरै रकम खर्चेर अमेरिका गएपनि अहिले आत्महत्या गरेको खबरले हामी निकै चिन्तित छौ' मोहनले भने, 'बालबच्चा सानै छन्। परिवारको आर्थिक अवस्था पनि बलियो छैन। दुख गरेर घरखर्च धानिएको छ।'
कृष्णकी ३४ वर्षीया श्रीमति यामकुमारी र छोरा ११ वर्षीय आदित्य तथा छोरी ५ वर्षीया अदित्या लामाचौरस्थित घरमा बस्दै आएका छन्। बुबा ७० वर्षीय क्षेत्रबहादुर र आमा ६५ वर्षीया कुसुरी खत्री कास्कीकोटस्थित गाँउमै बस्छन्। कृष्ण परिवारका कान्छा छोरा हुन्। उनका दाजुहरुमध्ये जेठा चन्द्र कतारमा र माईला मोहन भारतको मद्रासमा छन्।
'यहाँबाट अमेरिका जाँदा उ निकै खुशी थियो, साथिहरुको संगतले नै अबैध बाटो हुँदै उसलाई अमेरिकासम्म आकर्षण गर्‍यो' मोहनले भने, 'त्यसैले अवैध बाटो अपनाएर भएपनि उ गएको हो।' कतारमा राम्रैकमाई गरेपनि साथिहरुकै संगतकै कारण उसलाई अमेरिकातर्फ डोराएको उनले बताए।
कृष्णले आत्महत्या गरेको खबर गाउँले र केहि आफन्तले दुईदिन अघि नै पाएपनि परिवारलाई आईतबार मात्र जानकारी गराएका थिए। खबर थाहा पाउनासाथ श्रीमति यामकुमारी बेहोसजस्तै भएकी छिन्। 'हामीलाई यसबारेमा तीनदिनअघि नै सामान्य जानकारी आएको हो, तर परिवारमा भन्न सकेनौ' दाजु नाता पर्ने पूर्णबहादुर केसीले भने, 'खबर सुनेदेखि नै परिवारमा रुवाबासि चलिरहेको छ।'
कृष्णको अन्तिम संस्कारका लागि श्रीमतिलाई अमेरिका पठाउने प्रयासमा अहिले गाउँले र आफन्त लागिपरेका छन्। कास्की प्रशासनमा उनीहरुले राहदानीका लागि सोमबार नै निवेदन दिएका छन्। शव ल्याउन धेरै खर्च लाग्ने अवस्था आए श्रीमतिलाई नै अन्तिम संस्कारका लागि अमेरिका पठाउने चाहना आफूहरुको रहेकोले राहदानिका लागि प्रक्रिया अघिबढाएको पूर्णले जानकारी दिए। 'मान्छे जान भन्दा शव ल्याउन धेरै खर्च लाग्ने भन्ने सुनिएकोले हामीले श्रीमतिलाई नै पठाउन खोजेका हौं' उनले भने।

No comments:

Post a Comment