Sunday, August 26, 2012

मोरिसस जान लागेका १७ पक्राउ

वैदशिक रोजगारी मा जाने क्रममा देखिएको बेथिति र अव्यवस्थापनलाई अनुगमनएवं कारवाही गर्न गठित द्रुत कार्यदलले शनिबार राति मोरिसस जान लागेका १७ जना नेपालीलाई त्रिभुवन बिमानस्थलबाट फिर्ता गराएको छ ।
अध्यागमन बिभागका महानिर्देशक सुरेश अधिकारीका अनुसार जेट एयरको बिमानबाट दिल्ली हुँदै मोरिसस जान लागेका उनीहरुको राहदानीमा भिसा लागेको थिएन । 'हामीलाई मोरिससमा अन-अराइभल भिसा दिने भनेर लैजान लागिएको हो, अरु कुरा थाहा भएन,' वैदेशिक रोजगारीमा हिडेका ती कामदारले भने- 'यसअघि पनि हाम्रा साथीभाइहरु मोरिसस गइसकेका छन् ।'
काठमाडौंको जस्मिन ओभरसिजबाट कागजात मिलाएर उड्न लागेका उनीहरुलाई बैदेशिक रोजगार बिभागले श्रम स्टिकर भने लगाएको छ । महानिर्देशक अधिकारीका अनुसार यो प्रकरणमा 'एयरपोर्ट-सेटिङ' (कागजात मिलान गर्ने उपाय) समेत भएकाले यसमा छानवीन अघि बढिसकेको छ । उनका अनुसार बिगत केही सातामा यसैगरी भिसाबिहिन अवस्थामा ५२ नेपाली मोरिसस गैसकेको सूचना समेत पाइएको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठनको प्रावधान र अध्यागमनको जानकारीमा मोरिससमा नेपालीले 'अन-अराइभल भिसा' पाउने गरेका छैनन् ।
शनिबार अपरान्हको एयरपोर्ट अनुगमनमा परराष्ट्रका सहसचिव नारायणदेव पन्तसहित बैदेशिक रोजगार बिभाग, प्रहरी अनुसन्धान ब्युरोका प्रतिनिधिहरु समेत थिए । वैदशिक रोजगारी मा जाने क्रममा देखिएको बेथिती र अव्यवस्थापनलाई अनुगमन एवं कारवाही गर्न गठित द्रुत कार्यदल (र्‍यापिड एक्सन टास्कफोर्स)ले आइतबार पनि एयरपोर्टमा अनुगमन गर्ने भएको छ । कार्यदलको संयोजकमा गृह मन्त्रालयका सहसचिव शंकर कोइराला रहेका छन् ।

No comments:

Post a Comment