Friday, June 22, 2012

बुद्धमार्गबारे दलाई लामाको विवादस्पद् अभिव्यक्ति

बुद्धको उद्‍गम थलो भारत रहेको दाबी-
संगीता मरहट्टा, लण्डन, असार ८- तिव्वती बुद्ध धर्म गुरु दलाई लामाले बुद्ध मार्गबारे विवादस्पद् अभिव्यक्ति दिएका छन्। उनले बुद्ध मार्गको उद्‍गम थलो भारत रहेको दाबी गर्दै उहाँको जन्मथलोबारे विवाद गर्न नुहेन बताए।
एक सातादेखि बेलायत भ्रमणमा रहेका लामाले बुधबार अल्डरसोटस्थिति एक भव्य रंगशालामा आयोजित कार्यक्रममा सयौं नेपाली र बेलायती दर्शकबीच गौतम बुद्ध भारतमा जन्मिको दाबी गर्दै नेपाल वा भारत जहाँ जन्मिभए पनि त्यसलाई ठूलो नमान्न आग्रह गरेका हुन्।
'बुद्धमार्गको उद्‍गम थलो भारत हो र कसैकसैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्छन्, कसैले भारतमा' लामो समय भारतमा निर्वासन जीवन बिताइरहेका लामाले भने, 'बुद्ध जहाँ जन्मिएका भए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।'
अल्डरसोटको इविवि रंगशालामा आयोजित विश्व शान्ति, सद्‍भाव र बुद्ध धर्मबारे प्रवचनमा उनले बुद्धको दर्शनलाई बाहिरीरुपमा नभई भित्रैबाट अंगाल्न आवश्‍यक रहेको बताए। ‘एक्काइसौं शताब्दीमा पूजा पाठमा मात्र सिमित भएर हुँदैन, बुद्धका दर्शनलाई बुझ्न र अध्ययन गर्न अनि विज्ञानका कुरालाई बुझ्न पनि जरुरी छ,' हजारौंको भीडलाई सम्बोधन गर्दै लामाले भने।
अल्डरशोटमा उक्त कार्यक्रम नेपालीहरुकै संयोजनमा आयोजना गरिएको थियो। आयोजकले बुद्धको जन्मबारेको लामाको भनाईले केही तित्तता अनुभव भएपछि समग्रमा नेपाली र बेलायतीबीचको सम्बन्ध सुमधुर बनाउन फलदायी भएको बताएका छन्। 'नेपालीहरुकै नेतृत्वमा आयोजित दलाई लामाको भ्रमण र प्रवचनले बेलायती र नेपाली समुदायबीच सहिष्णुता वृद्धि हुनमा मद्धत पगेको छ,' कार्यक्रम संयोजक डम्मर घलेले नागरिकन्युजसँग भने।
कार्यक्रम बुद्धिष्ट कम्युनिटी सेण्टर युकेले आयोजना गरेको हो। पूर्व बेलायती सेनाले अप्रवासी सुविधा नपाएपछि अल्डरशोट क्षेत्रमा सयौं पूर्व गोर्खाहरु बस्दै आएका छन्। प्रवचन कार्यक्रममा नेपालीका साथै स्थानीय बेलायती, युरोपेली, भियतनामी, मंगोलियन, श्रीलंकाली लगायतका देशका अप्रवासीहरु पनि सहभागी भएका थिए।
फुटबल प्रेमी बेलायतीको भीडले भरिने अल्डरशोटकोइवीवी रंगशाला बिहिबार भने नेपाली पोसाकमा सजिएका नेपालीले भरिएको थियो। धेरैले बुद्ध धर्मलम्विहरुको परम्परागत पोसाक लगाएका थिए।
कार्यक्रममा बेलायती सञ्चार माध्यमका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति थियो। प्रवचनपछि दलाई लामाले फुटबल मैदान पुरै हिँडेर बिशेषगरी उपस्थित अपांगहरुका हात समातेर भलाकुसरीसमेत गरेका थिए।
कडा सुरक्षाका बीचमा ७६ वर्षीय दलाई लामा राजकीय सम्मानका साथ रंगशाला प्रवेश गराइएको थियो। झण्डै पाँच दसकदेखि भारतमा शरण लिएर बसिरहेका नोवेल शान्ति पुरस्कारका विजेता दलाई लामालाई बुद्ध धर्माबलम्बीहरु बुद्धको साक्षात अवतार नैं मान्ने गर्छन। आठ दिन लामो बेलायत भ्रमणमा रहेका लामाले यसअघि लण्डन र म्यानचेष्टरमा समेत आफ्नो प्रवचन दिइसकेका छन्।

No comments:

Post a Comment