Saturday, June 16, 2012

थप ४ एसएलसी परीक्षार्थीद्वारा आत्महत्या

काठमाडौं, असार २ (नागरिक)- एसएलसी परीक्षामा असफल थप ४ परीक्षार्थीले आत्महत्या गरेका छन्। बाँके, कञ्चनपुर र सिन्धुपाल्चोकका परीक्षार्थीले आत्महत्या गरेका हुन्। बिहीबार सात परीक्षार्थीले आत्महत्या गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएका उनलाई बिहीबार बेलुका बिषादी खाएर असक्त भएको अवस्थामा फेला पारेपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले पनि बिहीबार बेलुका घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्। झुन्डेको अवस्थामाफेला परेकी रैकालाई उनका दाजुले उपचारका लागि महाकाली अञ्चल अस्पताल लगे पनि उनको बाटैमा मृत्यु भएको थियो। सिन्धुपाल्चोक, पांग्रेटारकी१७ वर्षे सुशीला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छन्। उनी पनि एसएलसी परीक्षामा अनुत्तीर्ण भएकी थिइन्। यसैगरी एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि पर्वतको ठानामौला गाविसकी एक युवतीले कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेकी छन्।
ठानामौला गाविस-९ अर्चलेकी १७ वर्षीया दुर्गा अधिकारीले बिहीबार दिउँसो कालीगण्डकीमा हामफालेर आत्महत्या गरेकी हुन्। ठानामौलास्थित जनज्योति उच्चमाविकी एक्जाम्टेड परीक्षार्थी अधिकारीले पूरकमा समेत उत्तीर्ण हुन नसकेपछि आत्महत्या गरेको बताइएको छ।
गत वर्ष पनि एसएलसी परीक्षामा सहभागी अधिकारीले यस वर्ष एक्जाम्टेड परीक्षा दिएकी थिइन्।
बिहीबार बिहान काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ वर्षे रेश्मा कँडेल, विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसी अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।

No comments:

Post a Comment