कञ्चनपुर, असार ३- गर्भवती महिलालाई रक्तअल्पताबाट बचाउने आइरन चक्कीको कञ्चनपुरका स्वास्थ्य संस्थामा अभाव भएको छ। स्वास्थ्य संस्थाका लागि वार्षिकरुपमा २४ लाख आइरन चक्की आवश्यक पर्ने भए पनि विभागले छ लाख चक्की मात्रै पठाएकाले अभाव भएको हो। जिल्लामा जीवनजलको पनि अभाव छ।
कार्यालयमा रहेका तीन लाख ३० हजार आइरन चक्की एक महिनाका लागिसमेत नपुग्ने भएकाले समस्या परेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले बताए।
उनका अनुसार यहाँका प्रत्येक स्वास्थ्य संस्थालाई प्रतिमहिना १० हजार आइरन चक्की आवश्यक पर्दछ। गर्भवती महिलामा देखापर्ने रक्तअल्पताको समस्या हटाउनका लागि स्वास्थ्य विभागले नेपाल परिवार स्वास्थ्य कार्यक्रममार्फत निःशुल्क आइरन चक्की वितरणको व्यवस्था गर्दै आएको छ।
आइरन चक्कीको अभाव भएपछि ग्रामीण क्षेत्रका गर्भवती महिला बढी प्रभावित भएका भट्टले बताए।
यसैगरी, स्वास्थ्य संस्थाहरुमा झाडापखालाका बिरामीलाई निःशुल्क वितरण गरिने जीवनजलको समेत अभाव भएको छ। बजेट अभावमा जीवनजलको आपूर्ति गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन्।
स्वास्थ्य संस्थाहरुमा औषधि वितरण प्रणाली व्यवस्थित गर्न नसक्दा आइरन चक्की र जीवनजलको अभाव भएको बताइएको छ। स्वास्थ्य विभागले जनस्वास्थ्य कार्यालय कञ्चनपुरलाई यो वर्ष निःशुल्क औषधि खरिदका लागि ४२ लाख बजेट विनियोजन गरेको थियो। रासस
No comments:
Post a Comment