Friday, June 22, 2012

अतिकम विकसित मुलुकको विकासमा सहयोग गर्न प्रधानमन्त्रीको आह्‍वान

रियो दे जेनेरियो (ब्राजिल), असार ८- प्रधानमन्त्री बाबुराम भट्टराईले अतिकम विकसित राष्ट्रहरुले जलवायु परिवर्तनका गम्भीर र असमानप्रभावलगायतका गम्भीर वातावरणीय चुनौतीको सामना गर्नु परिरहेको बताएका छन्।
राष्ट्रसङ्घीय दीगो विकाससम्बन्धी सम्मेलनका क्रममा आयोजित अतिकम विकसित राष्ट्रको बेग्लै सम्मेलनमा उद्‍घाटन मन्तव्य राख्दै प्रधानमन्त्री भट्टराईले रियो सम्मेलनले समावेशी, दीगो र अग्रगामी विश्वव्यापी विकास एजेन्डाका निम्ति नयाँ युगको सूत्रपात गर्ने विश्वास व्यक्त गरे।
उनले सम्मेलनबाट दीगो विकासलाई अझ एकीकृत र सुसंगतरुपमा अगाडि बढाउन विश्वव्यापी सहयोग आदानप्रदान गर्न मद्दत पुग्ने स्पष्ट पारे। प्रधानमन्त्री भट्टराईले विश्वका ४८ वटा अतिकम विकसित मुलुकको कुल जनसङ्ख्या करिब ८८ करोड रहेको र त्यहाँ विश्वव्यापी वृद्धि, कल्याण, खाद्यान्न र ऊर्जा सुरक्षाका निम्ति प्रचूर मानवीय र प्राकृतिक स्रोतसाधनको सम्भावना रहेकोबताउँदै भने, 'अतिकम विकसित मुलुकको इस्तानबुल कार्ययोजनाले लिएका प्राथमिकतालाई प्रभावकारीरुपमा एकीकरण गर्न सकिए समावेशी, समतामूलक र दिगो विश्व सुनिश्चित गर्न सकिन्छ।'
उनले अतिकम विकसित मुलुकको प्राथमिकता प्राप्त क्षेत्रका बहुआयामिक चुनौती र अवसरलाई पूर्णरुपमा समेटिने दूरदृष्टि र बलियो कार्यढाँचासहित सम्मेलनको उपलब्धिका रुपमा कार्ययोजना ल्याइनुपर्ने बताए।
अतिकम विकसित मुलुकको दिगो विकासको सुनिश्चिततानभई विश्वमा दिगोपन आउने सम्भावना न्यून रहने उनको तर्क थियो। उनले सबैका निम्ति दीगो ऊर्जाबारे समेत प्रकाश पारेका थिए। उनले पानी र सरसफाइ कार्यक्रमका साथै खाद्य सुरक्षासँग सम्बन्धित कार्यक्रममा अतिकम विकसित मुलुकहरुलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो पनि औँल्याए।
सो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अतिकम विकसित मुलुकको इस्तानबुल कार्ययोजनाअनुरुप दीगो विकासको प्राथमिकतालाई सफल गर्नेगरी कार्यअगाडि बढाउनुपर्नेमा जोड दिए।
सबै मुलुकले दीगो ऊर्जा, खाद्यान्न र पोषण सुरक्षा, लैंगिक समानता, सशक्तीकरण र निर्णय-निर्माण प्रक्रियामा सहभागिताजस्ता एजेन्डालाई प्रबर्द्धन गर्नुपर्नेमा उहाँको जोड थियो।
यसैगरी, चीन, टर्की र सोलोमन आइल्यान्डका प्रधानमन्त्री समेतका दुई दर्जनभन्दा बढी राज्यवा सरकार प्रमुखहरुले सो सम्मेलनमा सम्बोधन गर्दै अतिकम विकसित मुलुकले सामना गर्नु परिरहेका खासखास चुनौतीबारे प्रकाश पारेका थिए।उनीहरुले दीगो विकास हासिल गर्ने अतिकम विकसित मुलुकको विकास प्रयत्नमा निरन्तर रुचि, ऐक्यबद्धता र सहयोग रहने प्रतिबद्धता व्यक्तसमेत गरेका थिए।
सो अवसरमा सबै सहभागीले अतिकम विकसित मुलुकका रुचि र चासोलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रबर्द्धन गर्नेतर्फ नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। सो अवसरमा वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशवमान शाक्य र नेपाली प्रमण्डलका अन्य सदस्यहरुको उपस्थिति थियो। रासस ‍

No comments:

Post a Comment