Thursday, June 7, 2012

बाबुरामको पुत्ला जल्नबाट बच्यो

जेठ २५ - नेपाल विद्यार्थी संघको विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ।बुधबार बेलुका तानसेन शितलपाटीमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्न लागेका नेविसंघ कार्यकर्ताबाट प्रहरीले पुत्ला खोसेको हो। भीडमा प्रहरी र प्रदर्शनकारीबीच तनाव भएपछि भागाभाग भएको थियो।
शान्ति समिति पाल्पाले आयोजना गरेको सडक नाटक हेर्न जुटेका पाँचसय बढी दर्शक, जिला स्थित राजनीतिक पार्टीका नेता, कर्मचारी र प्रहरी समेत रहेको भीडमा मट्टितेल खन्याएर पुत्ला जलाउनै लाग्दा प्रहरीले हस्तक्षेप गरेर संघका कार्यकर्तालाई तितरवितर पारेको थियो।
नेविसंघ केन्द्रीय सदस्य मोतीलाल भण्डारीले विरोध सभालाई सम्बोधन गर्दै प्रहरीहस्तक्षेपको प्रतिवाद गर्ने चेतावनी दिए। उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्को विरोध गरे।
प्रधानमन्त्रीको चुनाव घोषणाको विरोध गर्दै नेविसंघले त्यसको खारेजी र प्रधानमन्त्रीको राजिनामा माग गर्दै चरणवद्ध आन्दोलनकोघोषणा गरेको छ। नेविसंघका कृष्णबहादुर आलेको संयोजकत्वमा ६०१ जना सदस्य रहेको संघर्ष समिति बनाइएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। संघर्षका कार्यक्रम अन्तर्गत पाल्पा जिल्ला बन्दसमेत घोषणा गरिएको छ।

No comments:

Post a Comment