काठमाडौं, वैशाख २९ - प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ११ प्रदेशमा सहमति नजिक पुगेका छन् ।
माओवादी, कांग्रेस, एमाले र मोर्चा ११ प्रदेशलाई स्वीकार्न करिव करिव तयार भएको नेताहरुले बताएका छन् । प्रदेश नामाङ्कन पछि गर्ने सहमतिमा पुगेका दलहरु सिमाङ्कनमा भने एकमत छैनन् । मधेसी मोर्चाले एक मधेस एक प्रदेशको अडान राखेको स्रोतको भनाइ छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा साँझ बसेको बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी नेता वर्षमान पुनले छलफल सहमतितर्फ उन्मुख रहेको बताए । 'चारपक्षीय वार्ता जारी छ, समझदारीहरु उच्च भइरहेका छन्,' उनले भने, 'तर सहमति भइसकेको छैन, भोलिसम्म सहमतिको प्रयास जारी रहन्छ ।'
अध्यक्ष खनालले ११ गैरजातीय प्रदेशका विषयमा छलफल भइरहेको जानकारी दिए । एघार प्रदेशको प्रस्ताव आएको छ,' उनले भने, 'त्यसलाई कसरी गैरजातीय बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ ।'
नेता पुनले ११ गैरजातीय प्रदेशमा सहमति जुट्ने सम्भावना रहेको बताए । दलहरुबीच प्रदेशको नामाङ्कन, सिमाङ्कन र जातीय अग्राधिकारमा विवाद छ ।
माओवादी र मधेसी एकल जातीय आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने पक्षमा छन् भने कांग्रेस-एमाले बहुजातीय प्रदेशको पक्षमा अडिग छन् । बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसीले ११ प्रदेशमा छलफल केन्द्रित भएको बताए ।
विवाद मिलाउन पटक-पटक विवाद समाधान उपसमितिको म्याद थपे पनि सहमति नभएपछि बुधबार बिहान बसेको संवैधानिक समितिको बैठकले अब संविधानसभामा निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउने निर्णय गरेको थियो ।
मुख्य दलहरुबीच विवादित पाँचमध्ये नागरिकता, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति भइसकेको छ ।
यसैबीच संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलहरुबीच छलफल भइरहेकाबेला पत्रकारलाई भने भित्र प्रवेश गर्न दिइएन । अघिल्ला बैठकमा पत्रकारलाई प्रवेश गर्न दिइन्थ्यो ।
No comments:
Post a Comment