काठमाडौं, वैशाख २७ (नागरिक)- अनुमान गरिएकै सजिलो विजयसहित नेपाल एसिसी यु-१६ इलाइट कप क्रिकेटको सेमिफाइनल पुगेको छ। मलेसियामा जारी प्रतियोगितामा मंगलबार नेपालले इरानलाई १ सय ६७ रनले पराजित गर्यो।
नेपालको लगातार तेस्रो विजय हो। पहिलो खेलमा कुवेतलाई ७८ रनले पराजित गरेको नेपालले अघिल्लो दिन बहराइनको चुनौती ८ विकेटले पन्छाएको थियो। समूह ...बी' मा सबै तीन खेल जित्दै आयोजक मलेसियाले यसअघि नै नकआउट चरण सुरक्षित गरिसकेको छ। बुधबार हुने खेलमा मलेसियालाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ।
मलेसियासँग पहिलो खेलमा इरान १ सय ३५ रनले पराजित भएकाले नेपालको सहज विजय अनुमान गरिएको थियो। उपकप्तान आदिल खान र जगदीश चन्दको अर्द्धसतकमा नेपालले ८ विकेट गुमाई २ सय ४६ रन बनायो। यु-१६ इलाइटमा नेपालको यो उच्च स्कोर हो। सन् २०१० मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा नेपालले बहराइनविरुद्ध २ सय ६ रन बनाएको थियो।
वायुमास ओभल मैदानमा देब्रेहाते आदिलले ७१ र अनुभवी जगदीशले ५१ रन बनाए। बहराइनसँगको खेलमा १ सय ३८ रनको साझेदार गरेका ओपनरद्वय कप्तान दीपेन्द्र चन्द १२ र नुरध्वज सेन १५ रनमै आउट भए। त्यसपछि आदिलले आसिफ शेखसँग तेस्रो विकेटमा १ सय १४ र जगदीशसँग चौथो विकेटमा ७२ रनको साझेदारी गरे। २७औं ओभरमा आदिल रन आउट भए।
विकेटकिपर ब्याट्सम्यान आदिलले ८२ बल खेली ६ चौका प्रहार गरे। आसिफले ३७ रन बनाए। ६८ बल खेलेकाउनले ३ चौका प्रहार गरे। पहिलो संस्करणमा पनि खेलेका जगदीशले २७ बल खेली ४ चौका र ४ छक्का प्रहार गरेपछि नेपालले विशाल योगफल तयार पार्यो। रुपेश बास्तोला ६ रनमा अविजित रहँदा मुकुन्द यादव र कालीचरण यादव समान ९, आकाश विष्ट २ रनमा आउट भए। अल्फाज मन्सुरी १ रनमा अविजित रहे। तीन नेपाली खेलाडी रनआउट भएको इनिङमा इरानका आफसिन तिरेदास्ट र जावेद तारखानले २-२ विकेट लिए।
इरानले २८ ओभरमा ९ विकेट गुमाई ७९ रनमात्र बनाउन सक्यो। इरानका जुबेर आफरिन घाइते भएकाले...रिटायर्ट हर्ट' भए। ओपनर अस्लाम जाभाम (२१) र जावेद (११) बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। कालीचरण र आकाश विष्टले ४-४ विकेट लिए। कुवेतसँगको पहिलो खेलमा पनि ४ विकेट लिएका मध्यम गतिका बलर कालीचरणले ६ ओभरमा १ मेडन राख्दै १२ रन खर्चे। अफ स्पिनर आकाशले ८ ओभरमा २ मेडन राख्दै २०रन खर्चे।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment