Friday, May 4, 2012

आगोमा परेर ३ बालबालिकाको मृत्यु

रुकुम, वैशाख २२ - जिल्लाको चौरजहारीमा शुक्रबार साँझ आगोमा परेर ३ बालबालिकाको ज्यान गएको छ । चौरजहारीस्थित एक कुखुरापालन फर्ममा आगलागी हुँदा दुई बालिका र एक बालकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विजयश्वरी-३ स्थित डम्मर टमाटाको कुखुरार्फममा आगलागी भएको हो । विजयश्वरी-३ का सुरेन्द्र शर्माका ५ वर्षीय छोरा कालीदाश शर्मा, विजयश्वरी-४ का प्रकाश गोसाईकी ६ वर्षीया छोरी सुमित्रा गोसाई र विजयश्वरी-३ का कालीबहादुर बाँठाकी ४ वर्षीया छोरी करिना बाँठाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
खेतमा रहेको गहुँको नल सल्काउन लगाइएको आगो रित्तो कुखरा फार्ममा सल्कँदा उनीहरूको आगोमा परी मृत्यु भएको प्रहरी निरीक्षक शालिकराम शर्माले जनाए । कुखुरा फर्मभित्र खेलिरहेका उनीहरू बाहिर निस्कन नसकेपछि आगोमा परेका हुन् । खेतमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरी निरीक्षक शर्माले बताए । उनले आगो लगाउनेको खोजी भइरहेको जनाए । नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले आगो नियन्त्रणमा लिइसकेका छन् ।
आगलागीबाट अन्य कुनै क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगोबाट फर्म पूर्णरूपमा नष्ट भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । आगो शुक्रबार साँझ साढे पाँचबजे लागेको हो ।

No comments:

Post a Comment