दिनभर ज्याला मजदुरी गरेर घरमा सुत्ने तर्खरमा रहेकै समयमा एक्कासि १०–१२ जनाको युवा जत्थाले मलाई लछारपछार र कुटपिट गर्र्दै मन्दिरमा लिएर गए– बोक्सीको आरोपमा गाउँलेद्वारा कुटपिट गरिएकी चौधरी थरकी महिलालेआफूमाथि भएको अन्यायको सविस्तार बुधबार सुनाइन्।
सुनसरीकी अर्की चौधरी थरकी महिलाले भनिन्– ‘एक छिमेकीकी छोरीलाई हातखुट्टा काम्ने समस्या देखापरेपछि एउटा धामीलाई देखाउँदा मलाई बोक्सी भनी पोलेछन् र गाउँले सबै मिलेर मलाई कुटपिट गर्दै अभद्र व्यवहार गरे । ती छिमेकीको बिरामी छोरीको अगाडि लगेर मलाई राखियो र यही बोक्सी हो, यसले गर्दा नै यस्तो भएको हो भन्न लगाई मलाई लछारपछार पारियो ।
उनीहरु मात्र होइनन्, मोरङ जिल्लाकी ३५ वर्षीय चौधरी, दाङ टिकरी–९ की विक र सिरहाकी महतो थरका महिलाको पीडा पनि उस्तै छ । विसं २०६८ वैशाख १४ गते बेलुका वैशाख ११ गते बिरामी परेका विनोद विक र विके विकका घरपरिवारले गाउँकै झाँक्री गौप्रसाद विकलाई बोलाई धामी–झाँक्री गराउँदा झाँक्रीले विकलगायत दुईजनालाई बोक्सी भनेका थिए। कमलाले भनिन्– ‘बोक्सीको आरोपमा चरम यातनापछि म बोक्सी हुँ भनेर जबर्जस्ती कागज गराई मलाई गाउँमा बस्न नदिने भनी निकाला गरिदिए ।’
यी दुखेसा बोक्सी प्रथासँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाको सञ्जाल ‘बोक्सी अरोप लगाई गरिने महिला हिंसा÷मानवअधिकार हननको स्थिति विरुद्धको ६० दिने अभियान’द्वारा बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक भएका हुन् ।
कार्यक्रममा नेपाली कांंग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले बोक्सी प्रथा र छुवाछुत अन्त्यका लागि कुनै पार्टीको संरचनागत सैद्धान्तिक परिवर्तनभन्दा पनि व्यावहारिक तरिकाले कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राखे ।
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले बोक्सी आरोप लगाउनेलाई राजनीतिक पार्टीले संरक्षण दिन नहुने भन्दै दलित समुदायमाथि छुवाछुत गर्ने र महिलामाथि बोक्सीको आरोपमा यातना दिनेलाई पार्टीबाट निष्काशन गर्ने आँट गर्नुपर्ने बताए ।
सभासद् शान्ता चौधरीले गरिब, दलित र महिला भएकै कारण एक्काइसौँ शताब्दीमा बोक्सीको आरोप लगाउनुरुढिवादी परम्परा हो भन्दै बोक्सीको आरोप लगाउनेविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारी र राष्ट्रिय महिला आयोगका सदस्य मोना अन्सारी लगायतले बोक्सी प्रथाजस्तो जघन्य अपराधका सम्बन्धमा राज्यले तत्काल कडा कानुन बनाएर लागु गर्नुपर्ने सुझाव राखेका थिए ।
अभियानका संयोजक डा रेणु राजभण्डारीले बोक्सीकोआरोप लगाएर अपराध खप्न बाध्य महिलाका लागि तुरुन्त न्याय प्राप्त गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्ने बताईन । घटनाबाट प्रभावितहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था गर्नुपर्ने, सरकारी तहबाट बोक्सीप्रथा अन्धविश्वास भएको र यो सामाजिक कुरीतिजन्य सोचको उपज हो भन्ने बुझाउनेखालका प्रभावकारी सञ्चार अभियान सञ्चालन गरिनुपर्ने उनको भनाइ थियो ।
आोरेक संस्थाका अनुसार विसं २०६७ फागुनदेखि विसं २०६८ वैशाखसम्म नेपालमा ९२ महिलामाथि बोक्सीको आरोप लगाई दुव्र्यवहार गरिएको घटना दर्ता भएका छन् । रासस
No comments:
Post a Comment