Thursday, May 3, 2012

मन्त्रिपरिषद्को बैठक सम्पन्न, केही बढुवा

काठमाडौ, वैशाख २१ - बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी तथा स्वास्थ्य मन्त्रालयमा केही अधिकारीहरुको बढुवा गर्नुका साथै जनकपुर विष्फोट घट्नामा मारिएकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सरकारले सेनाको सहायक रथीमा प्रकाश बोगटी तथा महासेनानीमा निर्माणसिंह गुरुङको बढुवा गरेको छ। बोगटीलाई १९ नम्बर बाहिनीमा र गुरुङलाई ६ नम्बरबाहिनीमा पदस्थापना गरिएको छ । त्यस्तै,सशस्त्र प्रहरीका डिआईजी कृष्णबहादुर तामाङलाई एआईजीमा बढुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका डा.तारानाथ पोखरेल र डा.गुणराज लोहनीलाई ११ औं तहमा बढुवा गरिएको छ ।
सरकारले जनकपुरमा भएको विष्फोटको घट्नामा मारिएका चार जनालाई शहिद घोषणा तथा मृतक प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै धर्नामा बसेका बेला बैशाख ११ गते त्यहाँ विष्फोट गराइएको थियो ।
सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका जिल्ला हुलाक सोलुखुम्बुका हुलाकी धनबहादुर राईको सेवाअवधिमा ४ वर्ष २ महिना २३ दिन थप गरी पेन्सन दिने निर्णय गरिएको छ । सिरहाको लक्ष्मीनीयामा मारिएका छेदी यादव हत्याको छानविन गर्न गठित समितिका एक महिना म्याद थपिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरलाई केन्द्रीय स्वास्थय संस्थाको रुपमा संचालन गरिने छ । योजना आयोगका उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा गैर आवासीय बोर्ड गठन तथा सुनको प्रति १० ग्राम २ हजार ३ सय रुपैयाँ भन्सार दर कायम गरिएको छ । गरीबी निवारणका लागि रोजगार प्रत्याभूति विधेयक२०५९ लाई व्यवस्थापिका संसद प्रस्तुत गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: २०६९ वैशाख २१ ०१:१३

No comments:

Post a Comment