Saturday, May 12, 2012

बन्द र हड्ताल भन्दा वार्ताबाट निकास खोज्न कङ्ग्रेसको आग्रह

हडताल, बन्द र विरोधका कार्यक्रमका कारण सर्वसाधारण नेपाली नागरिकलाई परेको पीडा, असुविधा, व्यवधान, समस्या, जटिलता र दुःख कष्टप्रति गहिरो सहानुभूति राख्दै नेपाली कङ्ग्रेसले आगामी दिनमा बन्द र हडतालभन्दा पनि वार्ताका माध्यमबाट समस्याको निकास खोज्न सबैप्रति आह्वान गरेको छ।
राज्य पुनर्संरचनाका विषयलाई लिएर केही दिनयता उठेको असमझदारीका कारण मुलुकका विभिन्न भागमा सामाजिक सद्‍भाव, आपसी सहिष्णुता र मेलमिलापमा आँच आउने गरी भएका विभिन्न घटनाप्रति नेपाली कङ्ग्रेस संसदीय दलको गम्भीररुपमा ध्यानाकर्षण भएको बताउँदै उसले यस्तो आह्वान गरेको हो।
विभिन्न भाषाभाषी, जातजाति, धर्म, संस्कृति र हिमाल, पहाड, तराईमा बसोबास गर्दे आएका नेपालीबीच सदियौंदेखि रहेको सद्‍भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई विगतमा झैं आउँदा दिनमा पनि यथावत् राखी अघि बढ्नुको विकल्प छैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान लेखिन लागेको अहिलेको अवस्थामा सबै आ-आफनो हक अधिकारप्रति सेचत रहनु स्वाभाविक भए पनि शान्तिपूर्ण तरिकाले आफना माग राख्‍न सबै सरोकारवालालाई आग्रह गर्दछ- विज्ञप्तिमा भनिएकोछ।
देशका विभिन्न क्षेत्रमा भएका तोडफोड, आगजनीमा परेको जनताका सम्पतिको क्षतिपूर्ति र झडपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचार खर्चको सरकारले व्यवस्था गरोस् भन्ने माग गर्दछ र थारु समुदायलगायतका जनसमुदायसँग वार्ता आयोजना गर्न सरकारसँग आह्वानसमेत गर्दछ। आन्दोलनरत् सबै पक्षलाई वार्तामा बसेर समस्याको निकास खोज्न पनि आह्वान गर्दछ- अगाडि भनिएको छ।
कङ्ग्रेस संसदीय दलका नेता एवम् उपसभापति रामचन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा हडताल,बन्द र विरोधका कार्यक्रमका कारण सर्वसाधारण नेपाली नागरिकलाई परेको पीडा, असुविधा, व्यवधान, समस्या, जटिलता र दुःख कष्टप्रति गहिरो सहानुभूति राख्दै आगामी दिनमा बन्द र हडतालभन्दा पनि वार्ताका माध्यमबाट समस्याको निकास खोज्न पनि सबैप्रति आह्वान गरिएको छ

No comments:

Post a Comment