धानको बाला र खुकुरी क्रस चिन्ह भएको दज्र्यानी चिन्ह (फुली) कुममा लगाउने आधिकारिक व्यक्ति प्रहरी नायब महानिरीक्षक (डिआइजी) मात्रै हुन् । तर राजधानीमा पहरेदार उपलब्ध गराउने कम्पनी चलाएर बसेका 'सेक्युरिटी कम्पनी'हरुले आफ्ना गार्डलाई पनि डिआइजी हैसियतकै दज्र्यानी चिन्ह काधमा सिउरीदिएका छन् । त्यतिमात्रै होइन कालो चुस्ता, प्रहरीकैजस्तो बुट र टोपीधारी गार्डहरु राजधानीका विभिन्न कम्पनीको ढोका ढोकामा देख्न पाइन्छ ।
देशकेा सुरक्षा निकायकै जस्तो दज्र्यानी चिन्ह प्रयोग गर्नु गैरकानुनी हो । मल्टिनेशनल सेक्यूरिटी कम्पनि 'ग्रुप फोर' नेपालका निर्देशक सुन्दरप्रताप राणाले सुरक्षा निकायले लगाउने दज्र्यानी चिन्ह सेक्यूरिटी गार्डले लगाउनु अवैध बताए । 'सुरक्षा गार्डको पोशाक र दज्र्यानी चिन्ह कस्तो लगाउन पाइने भन्ने गृह मन्त्रालयबाट स्वीकृति लिनु पर्ने हुन्छ,'उनले भने,'स्वीकृति विना आफुखुसी पोशाक लगाउनु दिनु गलत हो ।'
गृहमन्त्रालय र सुरक्षा निकायले समेत यसबारे चासो दिएको छैन । डिआइजीको फुली मात्रै होइन, प्रहरी र नेपाली सेनाका अधिकृतहरुले लगाउने दज्र्यानी चिन्हको यस्ता कम्पनीले दुरुपयोग गरेका छन् । सिटिजन सेक्यूरिटी कम्पनिलगायत कम्पनीले आफना गार्डलाई यस्तो 'फुली' लगाएर राजधानीको विभिन्न संघ संस्थाको माग अनुसार पठाउने गरेका छन् ।
राणाका अनुसार गार्डलाई सक्यूरिटी कम्पनिले नै पोशाक र दज्र्यानी चिन्ह दिन्छ । यस्ता कम्पनीले सामान्य तालिम दिएर साक्षर वा निरक्षरलाई गार्डका रुपमा रोजगारी उपलब्ध गराइदिने गरेका छन् । कुनै पनि कार्यालय वा कम्पनीसित सम्झौता गरी गार्ड उपलब्ध गराउने उनीहरुले जागिर लगाइदिए वापत कमिसन .लिने गरेका छन् । जागिर दिने सेक्यूरिटी कम्पनिले नै तलब भत्ता र कपडासमेत उपलब्ध गराउने गरेको छ । पोशाकवापतको पैसा पनि सेक्युरिटी कम्पनीले तलबमै कटाउने गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी बिनोद सिंहले सुरक्षा निकायका उच्च अधिकारीको दज्र्यानी चिन्ह लगाउने कार्य रोक्नु पर्ने बताए । 'हाम्रो जस्तै दज्र्यानी लगाएर हतियार लगाएर बसेका हुन्छन, सर्वसाधरण भ्रममा पर्न सक्छन,' उनले भने, 'गार्डले लगाउने पोशाक र चिन्हको मापदण्ड तोक्नु आवश्यक छ । फुलीलाई सेक्यूरिटी गार्ड कम्पनिहरुले समान्य ठानेका होलान्, पुर्नविचार गर्नुपर्छ ।'
सरकारले यस्ता कम्पनिले विभिन्न संघ संस्थालाई दिने गार्डसम्बन्धि मापदण्ड बनाउनु पर्ने प्रहरी अधिकारीहरु बताउछन । 'नियमन निकाय नभएको फाइदा उनीहरुले लिइरहेका छन,'नेपाल प्रहरीका एक डीआइजीले भने,'यस्ता काम गर्नेलाई कस्तो सजाय हुन्छ ? भन्ने कानुन छैन । पुलिसको बर्दी लगाएर कसैले डकौटी गर्न सक्छ । यसको जिम्मेवारी कसले लिने ?' गार्डले लगाउने पोशाक र दज्यानी चिन्ह गृह मन्त्रालयले तोकिदिनु पर्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
No comments:
Post a Comment