काठमाडौ, वैशाख २५ - आफ्ना सहकर्मीको रिहाइको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, रत्न राज्यलक्ष्मी क्याम्पस(आरआर)ले आज बिहान चक्काजाम गरेको छ । अनेरास्ववियुले राजधानीका सम्पूर्ण कलेज तथा विद्यालयहरुको पठन पाठन समेत बन्द गराएको छ ।
यही वैशाख ७ गते चाबहिलस्थित पशुपति क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुबीच भएको गोलीकाण्डका क्रममा पक्राउ परेका अनेरास्ववियुका सचिवालय सदस्य विजया बुढाको रिहाइको माग गर्दै प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस ढोकाअगाडि आज बिहान एक घन्टा चक्काजाम गरिएको हो ।
अनेरास्ववियु(आरआर क्याम्पस)का अध्यक्ष नेत्र मैनालीले चक्काजामपछि सभालाई सम्बोधन गर्दै आफ्ना सहकर्मी बुढाको तत्काल रिहाइ नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
आइतबार मात्र बुढाको रिहाइको माग गर्दै त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका उपाध्यक्ष नवीना लामा,सचिव रचना खड्कालगायत पाँच विद्यार्थी नेतालाई प्रहरीले लाठीचार्ज गर्दा उनीहरू घाइते भएकामा अहिले मोडल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको छ । सामान्य विवादमा पशुपति क्याम्पसमा भएको गोलीकाण्डपछि यी दुई विद्यार्र्थी सङ्गठनले एकले अर्कालाई आक्रमण गर्ने काम भइरहेको छ ।
भक्तपुरमा आठजना पक्राउ
भक्तपुर। अनेरास्ववियुले आह्वान गरेको चक्काजामका क्रममा सरकारी गाडी तोडफोड गरिएको भन्दै भक्तपुरको गट्ठाघरबाट प्रहरीले आठजना अखिल कार्यकर्तालाई पक्राउ गरेको छ ।
पशुपति क्याम्पस चाबहिलमा केही दिनअघि भएको घटनामा पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्न माग गर्दै अखिलले आज उपत्यकाका क्याम्पसहरु अगाडि प्रदर्शन पनि गरेको छ ।
पक्राउ गरिएका अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष खड्कासहित विकास झा, वासुदेव नेपाल, लालबहादुर रोकाया, सुरेश वन, हेमबहादुर भण्डारी, जयन्त भट्ट, विक्रम महतोलाई महानगरीय प्रहरी वृत्त थिमिमा राखिएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सानोथिमि क्याम्पसका विद्यार्थीले स्वघोषित कार्यक्रम सकिएपछि सरकारी गाडीमा ढुङ्गा हान्न थालेपछि अवस्थालाई सामान्य बनाउन प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको बताउनुभयो । रासस
No comments:
Post a Comment