Monday, May 14, 2012

नेताले फिर्ता गरेनन् सुरक्षाकर्मी

काठमाडौं, जेष्ठ १ - राजनीतिक पहुचका आधारमा ३० जना नेता तथा उच्च अधिकारीले लिएका सुरक्षाकर्मी फिर्ता गरेका छैनन् । प्रहरी मुख्यालयका एक अधिकारीका अनुसार त्यसरी फिर्ता नभएका ५० भन्दा बढी सुरक्षाकर्मी अनावश्यक ड्युटीमा छन् ।
'सुरक्षा खतरा नभएको निर्णय भइसक्दा समेत सुरक्षाकर्मी फिर्ता पठाइएको छैन' ती अधिकारीले भने 'अहिलेको अवस्थामा अत्यावश्यक ड्युटीमा खटाउनु पर्ने सुरक्षाकर्मी अनावश्यक ड्युटीमा छन् ।' उनका अनुसार त्यसरी सुरक्षाकर्मी लैजानेहरू निक्कै माथिसम्म पहुच राख्नेहरू छन्, प्रधान कार्यालयका अधिकारीहरू आफ्ना कर्मचारी फिर्ता बोलाउन पनि गाह्रो मान्छन् ।
यसरी सुरक्षाकर्मी राख्नेमा कांग्रेस महामन्त्री प्रकाशमानसिंह, नेता रामशरण महत, अर्जुननरसिंह केसी एमाले महासचिव ईश्वर पोखरेल सचिव विष्णु पौडेललगायत छन् ।
कसैलाई सुरक्षा चुनौती भए नभएको तय विशिष्ट व्यक्ति सुरक्षामा उत्पन्न खतराको मुल्याङ्कन समितिले गर्छ । समिति बैठकले यससम्बन्धी निक्र्योल गरेर सुरक्षा चुनौती भए सुरक्षाकर्मीउपलब्ध गराइदिन सिफारिस गर्छ ।
समितिमा नेपाल प्रहरीका कार्य विभाग प्रमुख डिआइजी, सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख डिआइजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धाननिर्देशक, नेपाली सेनाका महासेनानी र गृहमन्त्रालयका उप सचिव रहन्छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा चुनौती नभएका बिभिन्न ३० जनाले ब्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) लगेका छन् । पटक पटक फिर्ता गर्न आग्रह गर्दा समेत पहुँचका आधारमा उनीहरूले अटेरी गरिरहेका छन् । जुनियर प्रहरी अधिकृत (पिएसओ) सई, असई, हवल्दार र सिपाही खटिएका छन् । अन्यले एक/एक जना लगेका छन् ।
पिएसओका नाममा लगिएका प्रहरीलाई घरेलु कामदारकारुपमा समेत परिचालन गरेको पाइएको छ । एक जनादेखि ४ जनासम्म प्रहरी कर्मचारीलाई व्यक्तिले लगेका छन् । समाजमा रवाफ र पहुँच देखाउन उनीहरुले व्यक्तिगत सुरक्षा अधिकृत लैजाने गरेको स्रोतकोभनाइ छ ।
पूर्व सरकारी कर्मचारीले समेत सुरक्षाकर्मी लगेर फिर्ता गरेका छैनन् । नेताहरु गंगालाल तुलाधर, घनश्याम भुषाल, रघुबीर महासेठ, मोहम्मद इस्तिहाक राई, विजय यादव, प्रकाशचन्द्र लोहनी र सुरेन्द्र पाण्डेले एक/एक सुरक्षाकर्मी फिर्ता पठाएका छैनन् । यो सूचीमा विद्यादेवि भण्डारी, सर्वदेव ओझा, प्रकाशरण महत, विश्वनाथ साह, रघुजि पन्त पनि छन् । सभासद कृष्ण यादब र रामकुमार शर्माले समेत पहुच कै आधारमा सुरक्षाकर्मी लगेका छन् ।
मोदराज डोटेल, भोला प्रसाद सिवाकोटी, नायव महान्यायधिवक्ता सूर्य कोइराला, लोकसेवा आयोगकासदस्य टिकादत्त निरौला र पूर्व लोकसेवा आयोग अध्यक्ष तिर्थमान शाक्यले पनि सुरक्षाकर्मी फिर्ता पठाएका छैनन् ।
१६ घण्टा ड्युटी
काठमाडौं- संविधान जारी हुनुपर्ने जेठ १४ को मितिनजिकिँदै गर्दा देशभर बढेको प्रदर्शन रोक्न सुरक्षाकर्मीको कार्यसमय बढाइएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार दैनिक १२ घण्टा ड्युटी गरिरहेको प्रहरीले अब जेठ १४ सम्म नियमित १६ घण्टा ड्युटी गर्नेछन् ।
केन्द्रीय प्रहरी प्रवक्ता विनोद सिंहले कम संख्या भएकाले बिशेष परिस्थितिमा कार्यघण्टा बढाएर ड्युटीमा खटाइएको बताए । 'यस अघि नै प्रहरीले १२ घण्टा काम गरिरहेको थियो, अब १६ घण्टा ड्युटीमा खटिने छ' उनले भने । यस्तै तराई र पहाडी जिल्लामा कार्यररत जनशक्ति मध्ये केहीलाईजेठ १४ लाई लक्षित गर्दै काठमाडौं ल्याउने तयारी भइरहेको छ । आन्तरिक रुपमा मुख्यालयले गृहकार्य गरिरहेको छ । 'दुई जना चाहिनेमा एक जनाले काम चलाउँदै सुरक्षाकर्मी काठमाडौं ल्याउने तयारी भइरहेको छ' प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने 'जसो तसो ब्यस्थापन गर्ने तयारी भइरहेको छ ।'
प्रकाशित मिति: २०६९ जेष्ठ १ १२:००

No comments:

Post a Comment