काठमाडौं, वैशाख २४ - दुर्गा परियार पूर्वसस्कृति मन्त्री खगेन्द्र प्रसाईंका सवारीचालक थिए । लमजुङको बेंसीसहर ३ का उनले भक्तपुर सिपाडोल-८ 'क' २८९ कित्ता नम्बरको १७ आनामध्येबाट चार आना जग्गा किन्न प्रसाईंलाई गुहारे । प्रसाईंको निर्देशनमा श्यामकाजी स्याङतानले २०६८ पुसमा पास गराइदिने गरी आफ्नै नाममा धनीपुर्जा देखाएर ५ लाख ५० हजार रुपैयाँ बैना लिए । तोकिएको मितिमा पास गर्न आलटाल गरेपछिमालपोत कार्यालय भक्तपुरमा बुझ्दा पत्ता लाग्यो, उक्त कित्ता नम्बरको जग्गा मालपोत रेकर्डमा थिएन । पूर्वमन्त्री प्रसाइर्ंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रु टीकाराम थापामगर घाइते भएको भन्दै धनी रूपेश दाहालले लाजिम्पाटको एनएलसी इन्स्योरेन्स कम्पनीमा २०६८ असोज १२ गते उपचार खर्च दाबी गरे । दाबी रकम लिन आवश्यक कागजात पनि पेस गरे । घाइते भनिएको थापाको बी एण्ड बी अस्पतालमा उपचार गराएको ९२ हजार ५ सय २३ रुपैयाँ बिल र महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी कुवेर कठायतले प्रमाणितगरेको पत्रसमेत पेस थियो । प्रक्रिया पुगेपछि उनले बिमा दाबी रकम लिए । दाहालले यस्तै प्रकृतिका अन्य घटना पेस गरेपछि अनुसन्धान गर्दा ठगी गरेको पत्ता लाग्यो । एनएलसीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
१५ हजार डलरको दुई लाख पचास हजार रुपैयाँ पाउने प्रलोभनमा सिन्धुपाल्चोक ज्यामिरे-३ की राधा कार्कीले साढे दुई वर्ष कुवेतमा कमाएको रकम खर्चिन् । एकान्तमा गएर डलर भन्दै लिएको रकम खोलेर हेर्दा कागजको टुक्रामात्रै भेटेपछि आफू ठगिएको पत्ता पाइन् । गाँठै गाँठो बनाएर राखिएको पोकोमा माथि र तल डलर भए पनि बीचमा बसको टिकट थियो ।
वनस्थलकी विन्दावती मल्ललाई रणबहादुर भण्डारीसहितका चार दलालले भक्तपुरको सिपाडोल २ वाग्मती क्लबसँगैको चार आना जग्गा देखाए । बेच्ने बेला भने सिपाडोल-४ 'क' नैचाल गाउँको १०२९ नम्बर कित्ताको जग्गा भिडाए । चार लाख रुपैयाँ रोपनीको जग्गालाई आनाको चार लाखमा बेचे । गाविसको सिफारिस, नक्सा, ट्रेस सबै नक्कली बनाएर गाउँको जग्गा बिक्री गरेर ठगेको पछि मात्रै पुष्टि भयो ।
उपत्यकामा हुने यस्ता ठगीका घटना केही प्रतिनिधि उदाहरण हुन् । जग्गा, बैंकिङ कारोबार रवैदेशिक रोजगारीका नाममा ठगी गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०६८ मा यस्ता घटना मुलुकभरमा २ सय ६२ वटा भएको छ । उपत्यका मात्रै एक सय ६० वटा यस्ता घटना भएका छन् । पूर्वक्षेत्रमा ४२, मध्यमा २०, पश्चिममा ३२, मध्यपश्चिममा ६, सुदूरपश्चिममा एक घटना भएका छन् । उपत्यकामा पनि भक्तपुर र ललितपुरको तुलनामा बढी छ । काठमाडौंमा मात्रै १ सय ९ वटा घटना भएको प्रहरीले जनाएको छ ।
अर्काको जग्गाको नक्कली लालपुर्जा बनाएर बिक्रीगरेको, एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा पास गराएको र जग्गा खरिद गर्दा दिएको भौचर बाउन्स भएको लगायतका उजुरी प्रहरीमा पर्ने गरेका छन् । यस्ता घटनाको उजुरी दैनिकजसो पर्ने गरेको काठमाडौं प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीमा आजभोलि जग्गामा ठगीको घटना धेरै भएको काठमाडौं परिसरका प्रहरी नायब उपरीक्षक अरुण बिसीले बताए ।
जग्गाको ठगीबाहेक विदेश पठाइदिने भन्दै रकम लिएर नपठाउने, धातुमा जलप लगाएर सुन भन्दै बिक्रीगर्ने घटना पनि भएका छन् । इन्स्योरेन्स कम्पनीमा हुँदै नभएको घटनामा सबै नक्कली कागज पत्र बनाएर गर्ने ठगी पनि बढेको छ । 'मोटरसाइकलले गर्ने बदमासी बाहिर आए पनि ठूला सवारीले गर्ने किर्ते भने बाहिर आउन सकेको छैन,' इन्स्योरेनस कम्पनीका एक अधिकारीको भनाइ छ । सवारी साधन कवाडीमा बिक्री गरेर हरायो भन्ने, कुनै समूहले आगजानी गरेको सवारीमा अर्को सवारीको नम्बर प्लेट राखेर नक्कली कागज पत्र पेस गर्ने र बिमा दाबी गर्ने इन्स्योरेन्सको भनाइ छ । काठमाडौं प्रहरीमा आठवटा मोटरसाइकल धनीले नक्कली कागजपत्र तयार गरी दुर्घटना बिमा माग गरेको इन्स्योरेन्स कम्पनीले उजुरी दिएको छ । पछिल्लो पटक ढुकुटी खेल्दा ठगिएको उजुरी प्रहरीमा पर्ने गरेको छ । फाइनान्स भाग्ने, सस्तोमा चालम दिने भन्दै रकम संकलन गरेर फरार हुने लगायतका घटना पनिबढेका छन् । प्रलोभनमा पारेर ठगी गर्दा सहजै आर्थिक आम्दानी हुने गरेका कारण ठग्नेहरू बढेको डीएसपी बिसीले बताए ।
No comments:
Post a Comment