Thursday, August 30, 2012

विदेशमा रोजगारीका लागि जाने बढे, सबैभन्दा बढी कतारमा

काठमाडौँ, भदौ १४ (नागरिक)- श्रम स्वीकृति लिएर रोजगारका लागि विदेशमा जानेहरुको संख्या अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०६८/६९ मा बढेको छ। देशको वर्तमान आर्थिक स्थितिबारे जारी गरेको तथ्याङ्क अनुसार संख्या ८.४ प्रतिशतले बढेको हो।
नेपाल सरकार, वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६८/६९ मा कूल ३ लाख ८४ हजार ६६५ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदानगरेको हो।
विगतमा जस्तै आर्थिक वर्ष २०६८/६९ मा पनि नेपाली श्रमिकहरुका प्रमुख गन्तव्य मुलुकहरुमा मलेशिया र खाडी मुलुकहरु नै रहेका छन्।
समीक्षा वर्षमा कूल श्रमिकहरुमध्ये २७.५ प्रतिशतले कतार, २५.६ प्रतिशतले मलेशिया, २०.९ प्रतिशतले साउदी अरब, १४.२ प्रतिशतले यू.ए.ई. तथा ६.४ प्रतिशतले कुवेत र बाँकी ५.५ प्रतिशतले अन्य मुलुकका लागि विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन्।
समीक्षा वर्षमा मलेशियाको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली श्रमिकहरुको संख्या अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले कमी आएको छ भने कतारको लागि श्रम स्वीकृति लिनेको संख्या २.६ प्रतिशतले वृद्धि भई नेपाली श्रमिकहरुको प्रमुखगन्तव्य मुलुकहरुमध्ये कतार अग्रस्थानमा रहन पुगेको तथ्याङ्कले देखाएको छ।

No comments:

Post a Comment