Friday, February 8, 2013

बालुवाटार अपराधि लुकाउने ठाउँ : खनाल

कुन नेताले के भने?-
काठमाडौँ, माघ २६ (नागरिक)- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले
प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारमा एमाओवादीले अपराधि लुकाउने
ठाउँ बनाएको आरोप लगाएका छन्। खुलामञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै
अध्यक्ष खनालले अब त्यस्ता अपराधिलाई माओवादीले बचाउन नसक्ने त्यस्तालाई
जेलमा ठोक्ने चेतावनी दिए।
उनले बाबुराम सरकारलाई आँधीबेहरी खेप्न तयाररहन चेतावनीसमेत दिए। 'नेपाली
जनताले आँधीबेहरी लिएर आन्दोलनमा उत्रदैछ,' सक्छ भने बाबुराम सरकार
त्यसको लागि तयार रहोस्। उनले आम जनतालाई पनि आँधीबेहरी ल्याउन आन्दोलनमा
आउन आह्वानसमेत गरे।
उनले नेपाली जनता सर्वसत्तावादको नभइ लोकतन्त्रको पक्षमा रहेको बताए।
उनले ६२-६३ को बहुआयामिक उपलब्धिलाई संस्थागत गर्नका लागि पनि आफूहरुले
आन्दोलन गर्नुपरेको बताए। खनालले भने- एमावादीले मुलुकलाई दिशाहीन र
मुढभेडतर्फ धकेलेको छ। हामी लोकत्नत्रका पक्षधरहरु मुढभेड चाहँदैनौं।
राजनीतिक संकटलाई मुठभेडबाट बचाउनका निम्ति लोकतन्त्र पक्षधरका दलहरु एक
हुनु अपरिहार्यरहेको बताए। माओवादी नेतृत्वले हिंसालाई न्यूनीकरण गर्नुको
सट्टा झन् हिंसातर्फ धकेलेको आरोप लगाए। उनले दिन दहाडै सर्वसाधारण,
ब्यापारीलाई अपहरण गरी हत्या गरेका घटनाहरु सार्वजनिक भइरहेको बताउँदै
यस्तो अपराधि सरकारलाई ढाल्न जरुरी रहेको बताए।
उनले सरकारले अपराधिहरुलाई दण्ड दिनुको सट्टा झनै संरक्षण गरिरहेको आरोप
लगाए। उनले नेपाल सबै क्षेत्र खाली गराएर माओवादीले एकलौटी शासनको सपना
देखिरहेको बताए। 'निर्वाचन आयोग पनि विघटन भइसक्यो,' खनालले भने,
'न्यायलयहरु पनि विस्तारै विस्तारै खाली हुन थालेका छन्। सबै खाली गराएर
माओवादी एकलौटी शासन लाद्‍न खोज्दैछन्। उनले एमाओवादी भ्रष्टाचारमा
लिपस्त रहेको आरोसमेत लगाए।
.....
नेपाली कांग्रेसका सभापति सुशील कोइराला ले बाबुराम सरकारको काउन्टडाउन
सुरु भइसकेको बताएका छन्। अब बबुराम सरकार धेरै नटिक्नै भन्दै उनले
आफूहरुको आन्दोलनले त्यसलाई परास्त पार्ने बताए।
खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भने- २०६२/०६३
को आन्दोलन गर्दा कसैले विश्वास गरेका थिएनन्। गद्धाफीले पनि बन्दुकले
समाप्त गरिदिन्छु भनेका थिए। जसले जनताका हक अधिकार, प्रजातन्त्रसँग
खेलबाड गरे, ती अब आफैं समाप्त भएर गए। अब यो सरकारको काउन डाउन सुरु
भएको छ ।
उनले द्वन्द्वकालका घटनामारु आममाफीको कुरा सम्भव नभएको बताए।
'तपाइँहरुले द्वन्द्वकालको घटनामा आममाफीको कुरा गर्नुहुन्छ,' उनले भने,
'त्यो कुरा सम्भव छैन।' उनले भने- जुन सरकारले संविधान उल्लंघन गर्‍यो,
चुनाव गराउन सकेन, सहमतिको राजनीति विगार्‍यो, त्यो सरकारले सहमतिको
राजनीतिका लागि बाटो छोड्दैन के कुरा गर्ने हामी?
.....
यो सरकार नकच्चरो, लबस्तरो थेच्चरो : ओली
नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले बाबुराम भट्टराई नेतृत्वको वर्तमान
सरकार नकचरा कामचलाउको हैसियतमा रहेको बताएका छन्।उनले प्रश्न गरे-
तोकेको समयमा निर्वाचन गराउन नसक्ने तर ३० वर्ष बस्छौँ भने योभन्दा
नकचरो, लबस्तरो र थेच्चरो सरकार कोही हुन्छ?
पञ्चायतको तानाशाही ३० वर्ष टिकेको देखेर हामी पनि ३० वर्ष शासन चलाउँछौँ
भनी माओवादीले भन्न थालेको उनले बताए।
'तोकेको मितिमा निर्वाचन गर्न सकेन। कहिले हुन्छ थाहा छैन तर भन्छ ३०
वर्ष बस्छौँ,' उनले माओवादीको आलोचना गर्दै भने।
.......
त्यस्तै नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल ले माओवादी
मुकुन्डोधारी शक्ति भएको आरोप लगाएका छन्। खुलामञ्चमा आयोजित विपक्षीको
विरोध सभामा सम्बोधन गर्दैउनले माओवादी नवसामन्तवादको नयाँ रुपमात्रै
भएको जिकिर गरे।
'५२ सालमा माओवादीले के भनेर आन्दोलन गरे र आज हेटौडामा के भनिरहेका
छन्?', पौडेलले भने 'अब जनताले बुझ्नेछन्, माओवादी मुकुन्डोधारी शक्ति
हो।
जनमत कतातिर छ भनेर देशभर आफूहरुले गरेको सभाले देखाइदिएको छ भन्दै उनले
प्रचण्डले चश्मा लगाएर जनमत हेरिरहनु नपर्ने बताए। गतिरोधलाई नेपाली जनता
आफै सडकमा उत्रेर भत्काउन चाहेको उनले बताए।
अब भोलिबाट अर्को चरणमा आन्दोलन अघि बढाउने र सत्तालाई तहसनहस अस्तव्यस्त
बनाई आफै सत्ता छाड्न बाध्य बनाउने उनले उद्घोष गरे।
एमाले महासचिव ईश्वर पोख्रेलले पनि माओवादी सर्वसत्तावादको विरोध अब केवल
विरोधमा मात्रसीमित नहुने र सशक्त आन्दोलन गर्ने बताए।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले देश लथालिङ्ग अवस्थामा पुगेको
बताउँदै सरकारले चाँडै लोडसेडिङ १८ घण्टा पुर्याआउन लागेको बताए। 'दिनमा
तीन तिहाइ समय बत्ती गएपछि त्यसलाई लोडसेडिङ हैन ब्ल्याकआउट भनिन्छ',
उनले भने। महंगी नियन्त्रणको सट्टा महंगी बढाउने कुराको नेतृत्व गरिरहेको
राणाको आरोपथियो।
......
देशको समस्या समाधानका लागि माओवादी अध्यक्षपुष्पकमल दाहालले राखेको
प्रस्तावलाई 'वीरबलको बुटी' जस्तो भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसी ले अस्वीकार गरेका छन्।
उखानटुक्का र कथा हालेर भाषणलाई रोचक बनाउन खप्पिस केसीले वीरबलको कथा
पनि खुलामञ्चमा आयोजित विपक्षीको विरोध सभामा सुनाए- एक पटक वीरबल
ससुराली गएको बेलामा सासुलाई मुसाले अत्याएको रहेछ। सासुले मुसाले बसिखान
दिएन ज्वाइँ भनेपछि वीरबलले मसँग बुटी छ भनेछन्। बुटी थाहा पाउन २०
रुपियाँ दिनुपर्छ भनेर उनले माग गरेछन्। २० रुपियाँ पाएपछि सासुलाई उनले
कानमा भनेछन् -'बिरालो पाल्नुस्!'
माओवादीले कांग्रेस, एमाले, नागरिक समाज भित्र प्रधानमन्त्री बनाएर
घुम्दाघुम्दै अब बहालवाला प्रधान न्यायाधीशलाई बनाउनु पर्छ भन्न थालेको
उनले बताए। सासुलाई वीरबलको बुटी थाहा भए जस्तो नेपाली जनताका लागि यो
कुनै नयाँ कुरा नभएको उनको कथन थियो।
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री मान्न संभव नभएको भन्दै
केसीले सरकारको कामकारबाहीमा सर्वोच्चले खेद्ने गरेकोले सर्वोच्चमा पनि
माओवादी पसेको व्याख्या गरे। 'प्रधानमन्त्री बन्न आफू योग्य रहेछ भन्ने
न्यायाधीशको मनमा पनि चिसो त पस्यो नि', उनले भने।
सभामा नौ दलमा संघीयता विरोधी कोही छैन भनेर झुट बोलिएकोमा उनले आपत्ति
जनाए। आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा संघीयताको विरोधमा रहेको उनले
प्रष्ट पारे।
......
पत्रकारको हत्या गर्ने अपराधीलाई जोगाउन निवेदन लिएर जाने प्रधानमन्त्री
बाबुराम भट्टराईको काम 'फुच्चे स्टालिनवादी' भएको राष्ट्रिय जनशक्ति
पार्टीका नेता प्रकाशचन्द्र लोह नीले बताएका छन्। उनले वर्तमान सरकारलाई
बाबुराम एन्ड कम्पनीको हाटहुट लाटलुट प्राइभेट कम्पनी भएको बताए।
खुलामञ्चमा भएको नौ विपक्षी पार्टीको विरोध सभामा बोल्दै लोहनीले
राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर भएको आरोप लगाए। देशको शासनसत्ता
विदेशीको हातमा छ भन्ने पहिलो प्रधानमन्त्री बाबुराम भट्टराई रहेको उनले
बताए।
राष्ट्रियतालाई सत्तामा अड्ने र सत्ता कब्जागर्ने हतियारको रुपमा
माओवादीले लिएको बताउँदै लोहनीले माओवादीको अधिवेशनमा प्रस्तुत
दस्तावेजमा सीमाको निर्धारण जनमत संग्रहबाट गर्ने उल्लेख भएको स्मरण
गराउँदै प्रश्न गरे- संसारको कुन देशमा सीमा निर्धारण जनमत संग्रहबाट
भएको छ ?
उनले भने, 'प्रचण्ड र बाबुरामजीले जनमत गर्छु भनेर सीमा निर्धारण गर्न
पाउनुहुन्न। जुन पार्टीले राष्ट्रियता भनेर नारा दिइरहेको थियो, त्यसको
दस्तावेजमा कसरी यस्तो आयो ?'
प्रतिक्रियाहरू

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete