४ घण्टा लामो सम्बोधनमा के–के भने ?
जनयुद्धबाटै सत्ता कब्जा नगरेर हामी यो शान्ति प्रक्रियामा किन आयौं ?
हामी जनयुद्धलाई यसरी ल्याउन चाहँदैनथ्यौं । मजदुर र किसानको हातमा
पुर्याउन, हामी काठमाडौं जान चाहन्थ्यौं र किसान मजदुरको हातमा सत्ता
ल्याउन चाहन्थ्यौं । यसरी घुमाउरो र आशंका लाग्ने बाटोबाट अगाडि बढ्न
हामी चाहन्नथ्यौं । हामी सीधै सत्ता कब्जा गर्न चाहन्थ्यौं ।
विरोधीहरु पनि हामीलाई सिध्याउन चाहन्थे, त्यसैले आतंकारी घोषणा गर्दै
हाम्रा टाउकाको मूल्य तोकेका हुन् । हजारौं हाम्रा साथीहरुलाई सिध्याए ।
तर, पछि के बुझे भने जागरणको रुपमा अगाडि आएको माओवादीलाई दमनबाटै
सिध्याउन खोज्दा महंगो पर्छ । त्यसैले प्रतिक्रियावादीहरु सम्झौतामा आए ।
राष्ट्रिय अन्तरराष्ट्रिय शक्ति सन्तुलनका कारण हामी यहाँ आएका हौं ।
प्रतिक्रियावादीलाई माया गरेर आएका होइनौं । उनीहरु पनि हाम्रो मायाले
सम्झैतामा आएका होइनन् । त्यसैले ठूलो दुर्घटना हुनबाट जोगाउनका लागि
घुम्ती र मोडरहरु को बाटो समातिएको हो ।
हामीलाई यो प्रक्रियाबाटै आफ्नो वर्गलाई विजयमा पुर्याउन सकिन्छ भन्ने
विश्वास लाग्यो । उनीहरुलाई पनि शान्तिप्रक्रियाबाटै माओवादीलाई सिध्याउन
सकिन्छ भन्ने विश्वास भयो ।तर, यी दुबै पूरा भएनन् । हामीले सोचेको र
उनीहरुले सोचेको जस्तो नभएकाले अहिले दुबै पक्षमा प्रश्नहरु उब्जिएका छन्
।
तपाईहरुले भन्नुभयो, हामी बिगि्रयौं कि ? यही चिन्ता प्रतिक्रियावादी
कित्तामापनि छ । यो प्रक्रियामा आएर गल्ती भो, बाह्रबुँदेमा गल्ती भो
भनेर उनीहरु फत्फताइरहेका छन् । हामीभित्र पनि खैलाबैला छ ।यो संयोग
मात्रै होइन । हामी सर्वहारावर्ग चरित्र हराउन लागेकोमा चिन्तित छौं ।
प्रतिक्रियावादी वर्ग माओवादीलाई धेरै छुट दिन नहुने रणनीतिमा लागेका छन्
। विश्वमा कहीँ माओवादीआन्दोलन छैन, सिला खोज्नुपर्ने स्थिति छ । तर,
नेपालमा माओवादी किन यसरी झाँगिँदै आयो भनेर उनीहरु आत्तिएका छन् । दैलेख
घटना र कुमार लामा प्रक्ररण यसैको उदाहरण हो । त्यसैले यसलाई परास्त गर्न
हामीले हाम्रो हतियारको संगठनलाई धारिलो पार्नुपर्छ । अन्यथा हाम्रो
वर्गले फेरि पनि हार्ने खतरा छ ।
अर्घाखाँची जसरी कब्जा भयो,त्यसैगरी खारा, जुम्ला र पाल्पा पनि जितेको भए
हामी यस्तो अप्ठ्यारो बाटोमा आउनै पर्ने थिएन । प्रतिक्रियावादीले पनि
मारेरै सकेको भए किन हामीलाई संविधानसभाबाट ठूलो पार्टी बन्न दिन्थे ?
त्यसैले शक्ति सन्तुलनको विशिष्ट अवस्थाले सिर्जना गरेको ऐतिहासिक
बाध्यताले दुबैथरिलाई सहमति गर्न बाध्य बनाएको हो ।
जनता र कार्यकर्ताले मलाई सबैभन्दा अग्लो ठाउँमा राखेका थिए । अग्लो
ठाउँमा बसेको हुनाले मैले नेपाली क्रान्तिको बाटोमा प्रतिक्रयावादीहरुले
बिछ्याएका एम्बुसहरु देखें । त्यसैले एउटा कमान्डरको नाताले खाल्डाखुल्डी
र धराप छल्नलाई चुनवाङ बैठकबाट मैले पनि काउन्टर धराप थापें ।
हामीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान अनि संविधानसभाबाटै
संविधान बनाउने नारा लिएर अगाडि बढ्नुपर्छ । नभए फेरि आन्दोलनमा जानुपर्छ
र त्यहीँबाट जनताले फैसला गर्नेछन् ।
बिप्पा सम्झौता र राष्ट्रवाद
बाबुरामजी इण्डिया जाने दिन बैठक बसेको थियो । त्यहाँ देव गुरुङ्गले
बिप्पा हुँदैछ रे भन्नुभएको थियो । मैले बाबुरामजीलाई बिप्पाका केही
प्रावधान हटउनुपर्ने खालका छन् भने हटाउनू र सँगै दोहोरो कर
अन्त्यसम्बन्धी सम्झौता पनि गर्नु भनेको थिएँ । तर, बाबुरामजी हैदारावाद
हाउसमा पसेपछि बाहिर कुरा गर्न मिलेन, सम्झौता भैहाल्यो । पछि प्रवण
मुखर्जीले मसँग भेटे, त्यसपछि दोहोरो करसम्बन्धी सम्झौता भयो ।
प्रकाशजीले जे भनिरहनुभएको छ, एकचोटि मलाईराजीनामा पनि बुझाउनुभयो ।
अहिले सरकारले कार्यान्यन गर्न लागेको छ । यसमा प्रकाशजीले हस्ताक्षर
गर्नुभएको छ । हस्ताक्षर पनि गर्ने विरोध पनि गर्ने सहीे हँुदैन ।
बिप्पा गर्नै हुँदैन भन्ने वैद्यजीहरुको कुरा थियो । मैले प्रक्रिया
मिलाउनुपर्छ भनेको थिएँ । अब यसलाई संश्लेषण गर्नुपर्छ । मलाई त भारतले
बिप्पा गर्छ जस्तो नै लागेको थिएन । संशोधन प्रस्ताव मान्छ जस्तो लागेको
थिएन । अब आफ्नै सरकारले गरेको सम्झौता मान्दैनौं भन्न मिल्दैन ।
राष्ट्रिय हितलाई प्रभाव पार्छ भने संशोधन गर्न सकिन्छ लागू गर्ने घरेलु
कानून बनाउनुदा राष्ट्रिय हितलाई हेरेर सर्तक हुनुपर्छ । बिप्पा र १९५०
को सन्धी एउटै होइन । १९५० लगायतका सन्धी खारेज हुनुपर्छ ।
भारतले सीधै हस्तक्षेप नगरी नयाँ ढंगले हस्तक्षेप गरेको छ । वित्तीय
पुँजी र सूचना प्रविधिमा आएको विकासले विस्तारवादी र साम्राज्यवादीहरुले
शोषणको तरिका बदलेका छन् । बदलिएको परिस्थिति अनुसार हामीले पनि नयाँ
रणनीति विकास गर्नुपर्छ । सबै असमान सन्धी सम्झौता खारेज गरिनुपर्छ ।
पार्टी यो विषयमा प्रष्ट छ । एक्काइशौं शताब्दीको आवश्यकता अनुसार नयाँ
सन्धी सम्झौता गरिनुपर्छ । यसमा ढुलमुल र दायावाँया गरिनेे छैन ।
विगतमा जस्तो राजाको समर्थन गरेर राष्ट्रवादी र भारतको समर्थन गरेर
लोकतन्त्रवादी हुने दिन अब गए । ती दुबै गलत हुन् । सामन्ती
अन्धराष्ट्रवादलाई राष्ट्रवाद देख्नु नक्कली राष्ट्रवाद हो । विदेशी
शक्तिको आडमा लोकतन्त्रवादी देखिन खोज्नु आयातीत एवं नक्कली लोकतन्त्र हो
। हाम्रो पार्टीभित्र राष्ट्रिय स्वाधीनताबारे कुनै विमति छैन ।
धोबीघाटलाई नउचालौं
धोबीघाट प्रकरण इतिहासमा भएको अन्तरसंघर्षको विशिष्ट परिस्थितिमा भएको
गठबन्धन हो । यसको नकारात्मक प्रवृत्ति बाहिर गैसकेको छ । उनीहरु मलाई
संसदीय दल र अध्यक्षबाटै हटाउन चाहन्थे, प्रकाशजी र बाबुरामजीले
मान्नुभएन । त्यसैले जम्मैले गठबन्धन गरे भन्ने भएन । तर, वैद्यले मलाई
बदला लिन त्यसो गरेका हुन् । बैसाखमा उहाँले अल्पमतमा परें भन्नुभएको
थियो ।
धोबीघाट प्रकरणपछि मैले राजीनामा पनि दिन खोजेको थिएँ । आफूसित बहुमत
नभएपछिनैतिकरुपमा किन बस्ने भन्ने भयो । तर, १०/१२ जना साथीहरु आएर यसमा
हाम्रो सहमति छैन भन्नु भो प्रकाशजी र बाबुरामजीले पनि त्यही भन्नुभयो ।
अहिलेधोबीघाटको नकारात्मक प्रवृत्ति बाहिर गएकाले भेडा भेडातिर बाख्रा
बाख्रातिर भैसेककाले अब यसलाई नउचालौंं । यस्ता धोबीघाट धेरै छन् ।
बाबुरामजीले ठीकै भन्नुभएको छ ।
प्रधानन्यायाधीशमा कांग्रेस, एमाले सकारात्मक
पहिले हामीले बाबुरामजीकै सरकारलाई राष्ट्रिय स्वरुप दिऔं भनेका थियौं ।
संविधानका विवाद टुंग्याऔं र सुशीललाई प्रधानमन्त्री बनाऔं भन्दा पनि
कांग्रेस, एमालेले मानेनन् । स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाऔं
भन्दा पनि मानेनन् । पूर्वन्यायाधीशको नेतृत्वमा सरकार बनाएर चुनावमा
जाऔं भन्दा पनि मानेनन् । त्यसैले अब बहालवाला प्रधान न्यायाधीशको
नेतृत्वमा सरकार बनाएर चुनावमा जानुपर्छ । मैले हिजो राति कांग्रेस र
एमालेका नेतालाई फोन गरें । उनीहरु पनि यसमा सकारात्मक देखिएका छन् ।
प्रचण्डपथ सम्पत्ति हो
जनयुद्धको पाँचवर्षको संश्लेषणका रुपमा प्रचण्डपथलाई स्थापित गरिएको हो ।
यसबाट लाखौं जनतालाई आन्दोलित गर्न सम्भव भयो । हाम्रो उद्देश्यचाँहि
माओवाद र विचारधारा मान्ने सबैलाई एकैठाउँमा ल्याएर नेपालमा एउटै
कम्युनष्टि केन्द्र बनाउने थियो । यो उद्देश्यका लागि प्रचण्डपथ नामकै
कारणले कतिपय समूहले अवरोध ठानेकाले मैले हटाइदिएको हुँ ।
बालाजु बैठकमा तलबाट प्रचण्डपथको कुरा गरियो । तर, प्रचण्डपथका नाममा
प्रचण्डलाई कमजोर पार्न प्रचण्डपथ प्रयोग गर्ने प्रवृत्ति केन्द्रमै
देखियो । प्रचण्डपथ मेरो निजी सम्पत्ति होइन, प्रचण्डपथ महान सहिद्,
जनता, कार्यकर्ता र आन्दोलनको पुजीँ हो । तर, प्रचण्ड अध्यक्ष भएकाले
यसमा मेरो पनि हक छ । यसलाई वैद्यले हटाएको होइन, मैले नै प्रस्ताव गरेर
हटेको हो । स्थगित गरिएको हो । मैले प्रचण्डपथ बनाउनुपर्छ भनेको होइन,
मैले हटाएको पनि होइन ।
अर्को महाधिवेशनमा सानो कमिटी बनाऔं
साथीहरुले केन्द्रीय समिति सानो बनामउनुपर्छ भन्नुभएको छ । यो राम्रो हो
। केन्द्रीय समिति सानो बनाउनु राम्रो हो । तर हामी अहिले संक्रमणमा छौं
। आजैबाट अर्को महाधिवेशनको तयारी थाल्नोस्, त्यहीँ सानो कमिटी बनाऔंला ।
माओको आलोचना माओवाद र क्रान्तिलाई छाड्न गरिएको होयन । माओ मर्ने
बेलासम्म अध्यक्ष भए, त्यो ठीक भएन भन्न खोजिएको हो । उनले उत्तराधिकारी
बनाएनन् । हामीले सामुहिक नेतृत्वको टीम निर्माण गर्नुर्पर्छ । अब मेरो
सक्रिय राजनीति १० वर्षमात्रै हुन्छ । पहिलेजस्तो २१ वर्षसम्म महाधिवेशन
नगर्ने होइन, अब ४/५ वर्षमै गर्नुपर्छ ।
(प्रचण्डले बिहीबार महाधिवेशनको बन्दशत्रमा गर्नुभएको झण्डै ४ घण्टा लामो
सम्बोधनको टिपोट गरिएको अंश )
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete