उजिर मगर/चाँदनी हमाल, काठमाडौं, असार १८- एकीकृत माओवादी र नेकपा-माओवादीबीच चितवनमा कार्यालय कब्जाका क्रममा अनमिनलाई फिर्ता नगरिएको हतियारचलाइएको आशंका गरिएको छ। दुई समूहबीचको झडपका क्रममा एसएमजी (सट मेसिन गन) मा लाग्ने गोली फेला परेको थियो।
सेना समायोजनको निर्णय अस्वीकार गर्दै एकीकृत माओवादीका तत्कालीन उपाध्यक्ष मोहन वैद्य समूहले आफ्नो सुरक्षाका लागि भन्दै केही हतियार बुझाएको थिएन। ३५ पोलिटब्युरो सदस्यको सुरक्षाका लागि अनमिनले साना तथा स्वचालित गरी ९६ हतियार दिएको थियो।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णयअनुसार लडाकु र हतियार फिर्ता गरेका थिए। दलहरूको सहमतिलाई अस्वीकार गर्दै वैद्य पक्षले हतियार फिर्ता गरेको थिएन। पार्टी विभाजनलगत्तै दुई पक्षबीच झडप हुँदा पहिले फिर्ता नगरिएका हतियार प्रयोग भएको आशंका एकीकृत माओवादीले गरेको हो।
घटनामा प्रयोग भएका गोलीका खोका एसएमजीको भएको चितवन जिल्ला प्रहरी प्रमुख भूपालकुमार भण्डारीले बताए। ‘घटनामा प्रयोग भएको गोली एसएमजी जस्ता लाग्छन्,' भण्डारीले नागरिकसँग भने, ‘अनुसन्धानका लागि केन्द्रमा पठाएका छौं।'
एकीकृत माओवादीले वैद्य पक्षले गोली प्रहार गरेको आरोप लगाएको छ। गोली लागी एकीकृत माओवादी कार्यकर्ताहरू उत्तम गुरूङ र सूर्य तामाङ घाइते भएका छन्। उनीहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। शनिबारै उनीहरूको शल्यक्रिया गरी गोली झिकिएको थियो।
‘हामीले सबै हतियार बुझाएका थियौं। देव गुरुङ र नारायण शर्माले पनि बुझाएका हुन्। अन्य केही हतियार बुझाएका थिएनन्,' तत्कालीन सातौं डिभिजन कमान्डर सन्तु दराईले भने।
नेकपा-माओवादीसँग अहिले २७ वटा हतियार रहेको सेना समायोजन विशेष समितिले जनाएको छ। अनमिनले नेताहरूको सुरक्षाका लागि एके ४७ समेत दिएको थियो।
‘धेरै एसएमजी छन्, झोलामा सहजै बोक्न सकिन्छ। सानादेखि एके ४७ जस्ता स्वचालित हतियारसमेत उनीहरूले राखेका छन्,' एक कमान्डरले भने। ९६ मध्येमातृका यादवको सुरक्षामा रहेका दुई लडाकुले एसएलआर लिएर भागेका थिए।
नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले आफूहरूसँग हतियार भए/नभएकोबारे एकीकृत माओवादी अध्यक्ष दाहाललाई थाहा भएको दाबी गरिन्। ‘जनमुक्ति सेनाको सुप्रिम कमान्डर कमरेड प्रचण्ड हो। हतियार कहाँ राखिएको थियो, उहाँलाई थाहा होला,' भुसालले भनिन्, ‘हामीले हतियार बुझायौं वा बुझाएनौं भन्ने सेना समायोजन विशेष समितिमा रेकर्ड हेरे हुन्छ।'
विशेष समितिले भुसालको भनाइ ठाडै अस्वीकार गरेको छ। वैद्य पक्षबाट कुनै हतियार नआएको समितिले प्रस्ट पारेको छ। सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले वैद्यपक्षबाट २७ र मातृका यादव समूहबाट २ गरी २९ हतियारनआएको बताए।
‘अनमिनले प्रमाणीकरण गरेको ९६ हतियार माओवादी नेताहरूका सुरक्षाका लागि दिइएको थियो,' शर्माले भने,
‘माओवादीले आफ्नो सुरक्षाका लागि लडाकु नराख्ने निर्णय गरेसँगै हतियार, लडाकु फिर्ता गरे पनि वैद्य समूहले २७ वटा हतियार बुझाएको छैन।'
शान्ति प्रक्रियाका लागि सेना समायोजनमा नेतृत्वले आत्मसमर्पण गरेको आरोप वैद्य माओवादीले लगाउँदै आएको छ। पार्टी विभाजनपछि हतियारबारे सरकारले चासो दिएको छैन। शनिबार चितवन झडपमा गोली चलेपछि एकीकृत माओवादी झस्किएको छ।
वैद्य माओवादीसँग हतियार रहेकोबारे गृह मन्त्रालयले थाहा नभएको जनाएको छ। गृह प्रवक्ता शंकर कोइरालाले दोहोरो सुरक्षा हटाउने निर्णयपछि हतियार स्वतः फिर्ता हुनुपर्ने बताए।
‘कन्टेनरमा भएका हतियार अहिले नेपाली सेनाको रेखदेखमा छ। दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णयपछि स्वतः हतियार बुझाउनुपर्ने हुन्छ। कति हतियार बाँकी छन्? विशेष समितिसँग बुझ्छु,' कोइरालाले भने।
No comments:
Post a Comment