Monday, July 2, 2012

प्रधान मन्त्रीले बबन्डर मच्चाएर देशलाई फसाए : अध्यक्ष खनाल

खिलानाथ ढकाल, विराटनगर, असार १८- नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधान मन्त्री बाबुराम भट्टराईले मनोमानी ढंगले राजनैतिक निर्णय गर्दासिंगो देश संकटमा फसेको बताएका छन् । कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाका लागि आज बिहान विराटनगर आएका अध्यक्ष खनालले सबै राजनीतिक दलहरुको सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने बताए ।
विमानस्थल ओर्लेसँगै पत्रकार सम्मेलन गरी उनले सबै राजनीतिक दलहरुको सहमतिमा मात्रै अहिलेको सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताए । सरकारले दलहरुको सहमित बिना बजेट ल्याए एमालेले त्यसको विरोध गर्ने पनि उनले जानकारी दिए । कस्तो विरोध गर्ने भन्ने बारे भने उनले परिस्थिति हेरेर मात्रै निर्णय गरिने जनाए ।
‘सरकारले पूर्ण बजेट ल्याउनुपर्छ,' उनले भने, ‘पूर्ण बजेट नल्याउने हो भने देश आर्थिक संकटमा फस्छ ।‘ पूर्ण बजेटले देशको अर्थतन्त्र गतिशिल बन्ने उनको भनाई थियो । ‘यसको लागि सबै दलहरुको सहमति नभइ सम्भव छैन,' उनले भने ।
यसैबीच उनले प्रधान मन्त्री भट्टराईले आफ्नै हठले सिंगो देश दिनदिनै संकटमा फसेको आरोप लगाए । बाबुरामको राजनीतिक औचित्य समाप्त भइसकेकोले नैतिक रुपमा सत्तामा बसिरहनु नहुने उनले बताए । ‘संविधान सभा विघटन भएसँगै बाबुराम सरकारको आधिकारिकता सकिएको छ,' उनले भने, ‘अब सबै दलहरुको सहमतिमा आधिकारिक सरकार बनाएर देशलाई निकास दिनुपर्छ ।‘

No comments:

Post a Comment