Monday, July 2, 2012

छुट्टा-छुट्टै कारणले चितवन र सप्तरीमा बन्द

भरतपुर, असार १८ - एकीकृत माओवादीले सोमबार चितवन बन्द आव्हान गरेको छ । दुई दिन अगाडि पार्टी कार्यालयको विषयमा भएको झडपमा नेकपा-माओवादीका कार्यकर्ताले गोली चलाएको भन्दै दोषीलाई पक्राउगर्न बन्द आव्हान गरिएको हो ।
भरतपुर कृष्णनगर-६ स्थित जिल्ला पार्टी कार्यालयमा दाहाल र वैद्य पक्षीय दुवै माओवादी पार्टीले दावी गरेपछि दुई पक्षबीच हिंसात्मक झडप भएको थियो ।
त्यही क्रममा त्रिचोकमा भएको झडपमा गोली चल्दा एकिकृत माओवादीका कार्यकर्ता उत्तम गुरुङ र सूर्य तामाङको तिघ्रामा गोली लागेको थियो । उनीहरुको भरतपुर स्थित अस्पतालमा उपचार भइरहेकोछ । बिरोधमा संस्थापन पक्षले हिजो पनि भरतपुरको चौबिसकोठीमा चक्काजाम गरेका थिए । बन्दका कारण आज चितवनमा बजार, यातायात, कलकारखाना र शैक्षिक संस्था ठप्प छ ।
अस्पताल सञ्चालन नभएको भन्दै चक्काजाम
जितेन्द्र खड्गा
राजविराज- सरकारले सप्तरीको भारदह स्थित बन्द रहेको अस्पताललाई तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गरेपनि हालसम्म नभएको भन्दै भारदहबासीले सोमबार बिहान पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
पटक-पटक शान्तिपूर्ण दवाब दिंदा पनि निरीक्षण बाहेक केही नभएको भन्दै स्थानीवासी सडकमा उत्रेका छन् । उनीहरुले गत कात्तिकमा आमरण अनसन समेत बसेका थिए । तात्कालिन स्वास्थ्य राज्य मन्त्री सरोज यादवले अस्पताल सञ्चालन गर्ने आश्वासन दिएर अनसन तोडाएको थिए ।
कार्तिक २४ गते मन्त्रिस्तरीय निर्णयबाट आवश्यकप्रक्रिया पुरा गरी आगामी तीन महिनाभित्र भारदह अस्पताललाई सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, सो समय बितेको पाँच महिना बितिसक्दा पनि कुनै पहल नभएको भन्दै आफुहरु पुनः संघर्षमा उत्रिएको स्थानीय शम्भु झाले बताए ।
भारदहस्थित राजमार्गमा चक्काजाम भएपछि अहिले दर्जनौं सवारी साधन थन्किएको छ । बन्दले गन्तब्य हिंडेका सर्वसाधारण यात्रुहरुलाई बीच बाटामै अपलत्र परेका छन् ।
भारदह अस्पतालमा सञ्चालनमा नआउँदा उक्त क्षेत्रका दुई दर्जन भन्दा बढी गाविसका बासिन्दाहरु सहजै स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् ।

No comments:

Post a Comment