Saturday, June 30, 2012

पार्टी कार्यालयका विषयमा दुई माओवादीबीच झडप

चितवन, असार १६ - कार्यालयको विषयलाई लिएर चितवनमा दुई माओवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । एकीकृत माओवादी र नेकपा-माओवादी दुवैले पुरानो कार्यालयलाई आफ्नो भनेर दावी गरेपछि यहाँ विवाद भएको हो ।
भरतपुर-६ स्थित कृष्णनगरमा रहेको पार्टी कार्यालय वैद्यपक्षले कब्जा जमाएपछि दाहाल पक्षले पार्टी कार्यालय खाली गर्न अल्टिमेटम दिएको थियो । कार्यालय खाली नभएपछि दाहाल पक्षीय कार्यकर्ताहरु शनिबार दलबल सहित कार्यालयमा कार्यक्रम गर्न पुगेका बेला दुई पक्षबीच झडप भएको हो । दाहालपक्ष पुग्दा पार्टी कार्यालयमा वैद्यपक्षको कार्यक्रम भइरहेको थियो । झडमा दुवै पक्षका कम्तीमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल पुर्‍याइएको छ । दुवैपक्षले पार्टी कार्यालयबाट एक अर्काको साइनबोर्ड हटाउन खोज्दा हिंसात्मक झडप सुरु भएको हो ।
प्रहरीले हस्तक्षेप गरी पार्टी कार्यालयलाई आफ्नो नियन्त्रणमा लिएको छ । दुवै पक्ष फेरि मुठभेड गर्ने तयारीमा जुटेका छन् । दुवै पक्षबीच कुनैपनि बेला हुनसक्ने भिडन्तले यहाँ तनाव बढेको छ । सुरक्षा सतर्कता बढाईएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

No comments:

Post a Comment