Saturday, June 30, 2012

बाबुरामको बालहठले बर्वाद : खनाल

बुटवल, असार १६ (नागरिक)-एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट संविधान बनाउन ध्यान नदिएर प्रधानमन्त्री बाबुराम भट्टराईको बालहठले मुलुकमा संवैधानिक रिक्तता आएको बताएकाछन्। ‘संविधानसभाको वेवास्ता गर्दै प्रधानमन्त्रीले चुनावको घोषणा गरे, मंसिरमा हुनै नसक्ने संविधानसभाको चुनाव गर्छु भन्नु बाबुरामको बालहठ हो, ' -पार्टीको लुम्विनी अञ्चलस्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने।
संविधानसभाबाट चुनाव नबनाएर मुलुकमा संवैधानिक शुन्यता ल्याउदै सत्ता कब्जाको अभ्यासमा लागेकोमाओवादीका लागि समेत अहिलेको अवस्था गलपासो भएको उनको भनाई छ। ‘जसरी पनि मंसिरमा चुनाव गर्ने र बहुमत ल्याएर एकलौटी खालको संविधान बनाउने भन्ने माओवादी सपना अधुरै भयो,' -अध्यक्ष खनालले भने- 'प्रचण्ड र बाबुरामले सपना बुन्दाबुन्दै माओवादी फुटेर छिन्नभिन्न भएको छ। अरुलाई सिध्याउने भन्दाभन्दै उनीहरुले आफैंलाई सम्हाल्न सकेनन्।'
एकिकृत माओवादीप्रति आक्रोश व्यक्त गरेका खनालले अन्तिम समयसम्म एमाले र कांग्रेसले संविधान सभालाई रुपान्तरित संसदको रुपमा जोगाउनलागेको बताए। ‘तर माओवादी नेताहरुले मान्दै मानेनन्, संवैधानिक शुन्यताको फाइदा उठाउने रणनीति बनाएका उनीहरुका लागि नै यो अवस्था हानिकारक छ,' उनले भने।
उनले बाबुराम भट्टराईले राजीनामा दिएपछि नै दलहरु बीच सहमति हुनसक्ने भन्दै उनको राजिनामाबिना सहमति र सहकार्यको कल्पना गर्न नसकिने बताए। ‘कुर्सीमा टासिएर अझै पनि बाबुरामले कति मोह देखाइरहने? छिटो राजीनामा दिएर निकासको ढोका खोल्नुपर्छ,' उनले भने।
बाबुरामले राजीनामा दिएपछि दलीय सहकार्य नया ढंगले अधि बढ्ने र मुलुकले राजनैतिक निकास पाउने खनालको भनाई छ।

No comments:

Post a Comment